Sunday, August 3

भारतीय प्रधानमन्त्री मोदी आज आउँदै

narendra modiकाठमाडौं , श्रावण १८ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल ओर्लनुभन्दा १६ घण्टाअघि सामाजिक सन्जाल टि्वटरमार्फत आफू नेपालको भ्रमण गर्न ब्यग्र प्रतीक्षामा रहेको बताएका छन् । उनले शनिबार साँझ सवा ६ बजे टि्वट गर्दै आफ्नो धारणा बाहिर ल्याएका हुन् । 'आफ्नो भ्रमणले समान संस्कृति र परम्परा रहेको दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ । मलाई आशा छ नेपालका नेता तथा सांसदहरुसँग फलदायी वार्ता हुनेछ र यसले नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ ।'

नेपालको दुई दिने औपचारिका भ्रमणका लागि आइतबार विहान १०.५० मा सेनाको विशेष विमानमा काठमाडौं आइपुग्दैछन् । सरकारले उनको भ्रमणलाई उच्च महत्व दिदै सुरक्षाको विशेष ब्यवस्था र सम्मानको ब्यापक तयारी पुरा गरेको छ । उनी चढ्ने अत्याधुनिक सुरक्षा प्रविधिजडित गाडी तीन दिनअघि नै नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको थियो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष अगाडिको प्राङगणमा नै प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्ने कायक्रम रहेको छ । उनको सम्मानमा १९ तोपको सलामी दिदै भ्रमणलाई राजकीय बनाइने सम्पूर्ण तयारी पुरा भएको छ ।
लामो समयदेखि मोदी पशुपति नाथको दर्शनकै लागि मात्र भए पनि नेपाल आउने चर्चा भइरहेको अवस्थामा उनले टि्वटमा भनेका छन, 'मेरो लागि नेपाल यात्राको अर्को एउटा महत्व पनि छ । मैले साउनको महिनाको अवसर पारेर भगवान पशुपतिको दर्शन गर्न पाउने  सौभाग्य रहेको छ ।' पशुपतिमा उनको पूजाको लागि ब्यापक तयारी छ । सोमबार विहान उनले पशुपतिमा झण्डै एक घण्टा विताउने छन् ।
उनी बस्ने होटल देखि सवारीको क्रममा प्रयोग हुने सडक, सिंहदरबार, राष्ट्रपति भवन सबै सिंगारिनुका साथै सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ । आइतबार सडक ट्रफिकलाई ख्यालगरेर सरकारले कम सवारी साधन प्रयोग गर्न समेत सबै पक्षलाई अनौपचारिक रुपमा आग्रह गरिसकेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले अत्यावस्यक सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न उसको आधिकारी एफएम रेडियो मार्फत सूचना जारी गरेको छ ।
प्रधानमन्त्री कोइरालाले मोदीको भ्रमणले दुई देशका सम्वन्धलाई राजनीतिक तहमा बलियो बनाउन भारतले सदासयता देखाएको बताएका छन । नेपालले जे सम्मानित ठान्छ ,त्यो नै हुनेछ त्यसमा सरकार चुक्दैन नेपाल सार्वभौम मुलुक भएको जानकारी उनले दलका नेता तथा आफ्ना मन्त्रीहरुलाई बताएका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै कान्तिपुरसँग भने- 'भारत अहिले उदार भएर आएको छ । भारतले सबै छिमेक प्रति सद्‌भाव देखाएको छ । यस्तो अवस्थामा हामीले पनि दुई पक्षीय सम्वन्धलाई थप बलियो बनाएर अघि बढ्न आवश्यक छ । १७ बर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको यो भ्रमणलाई अवसरका रुपमा सरकार र मुलकले लिनु आवश्यक छ ।' आइतबार नै दुई पक्षीय बार्ता हुनेछ । दुई प्रधानमन्त्रीको एक्ला एक्लै वार्ता पछि दुई पक्षीय प्रतिनिधि मण्डलको बार्ता हुनेछ । त्यसमा नेपालको तर्फबाट प्रधानमन्त्रीसंग अर्थ, सुचना तथा संचार र परराष्टमन्त्री सहितको टोली रहने छ भने भारतीय पक्षबाट प्रधानमन्त्री मोदीसंग उनका सुरक्षा सल्लाहकार, विदेश सचिव सहित अन्य उच्चअधिकारी रहने बताइएको छ ।
दुई पक्षीय राजनीतिक विश्वास बढाउन नेपाल र भारत दुवै तर्फबाट प्रयत्न हुने पनि सल्लाहकार भट्टराईले बताए । सरकारले मोदको भ्रमणको क्रममा उर्जा ब्यापार सम्झौता (पिटिए) नगर्ने निश्चित भएको एक अधिकारीले बताए । कर्णाली परियोजना अघि बढाउनका लागि आयोजना विकास सम्झौता (पिडिए) गर्ने तयारी गरेको भए पनि विपक्षी दलको दवाव पछि त्यो पनि नहुने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका निजी सचिव चुडामणी खड््ाका अनुसार दहालले प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरेर भने, 'पिडिए गर्न नराम्रो होइन । हतारमा पिडिए गर्न भन्दा दलिए सहमतिमा गर्न राम्रो हुन्छ । अहिले गरियो भने पनि त्यसमा एमाओवादीको सहमति हुनेछैन् ।'
सरकारले मोदीको भ्रमणको समयमा हुलाकी राजमार्गलाई आगामी तीनवर्षमा सम्पन्न गर्ने गरी वार्ता र सहमति गर्ने, पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई अघि बढाउने, गलगाँड नियन्त्रणको लागि भारतीय सहयोग, संचार क्षेत्रमा दुई मुलुकका सरकारी टेलीभिजनको सहकार्य लगायतमा समझादारी हुनेमा तयारी भएको छ । त्यस्तै पंचेश्वर बहुउद्देश्य परियोजनालाई अघि बढाउने बारेमा पनि यसअघिको सहमतिलाई अघि बढाउने विषय उद्धृत गर्दै संयुक्त विज्ञप्ती जारी हुने अधिकारीहरुले बताए । मोदीको यो भ्रमण विशुद्ध राजनीतिक विश्वास कायम गर्नेमा मात्र केन्दि्रत हुनेछ । संसदमा संवोधन, राजनीतिक दलका नेताहरुसंगको भेटबाट यो स्पष्ट देखिएको भ्रमण तयारीमा लागेको एक अधिकारीले बताए ।