सोझै प्रसँगमा जाऔं। भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणपछि मिडीयामा घनघोर चर्चा चल्यो। केही तत्कालिक राजनैतीक बिषय, राजदूतको अवधी देखी लिएर राजनीतिक दलका नेता विशेषहरुका चाकरीले केही समय मताकाश रङ्गाए। प्रचन्डले सिङगापुरमा श्रीमतीको उपचार आधैमा छोडेर फर्केको प्रसँग मनोरन्जनका साथै गहन भौतिकवादी विश्लेषणको महान प्रेरक बन्यो। यी सबै अत्याधिक महत्वका बिम्बहरु बिच अली अली चर्चा पायो - राष्ट्रियताको कुराले।
केही समययता नेपालमा राष्ट्रियताको कुरा गर्ने मान्छेलाई कुनै प्राचीन युगको प्राणी जस्तो बनाउने चलन चलेको छ। पञ्चायतकालमा ढाका टोपी र दौरा सुरुवालमा बेरिएको राष्ट्रियता श्रीपेच धान्न र राजाको जुत्तामा पालीश लगाउन मात्र प्रयोग भएको कुरा ठीक साँचो हो। जन-आन्दोलन-१ पछी पनि पाठ्यक्रममा खासै फरक आएन, तर एउटा प्रस्ट बद्लाव आयो बौद्धिक वर्गको 'नुनको सोझो' गर्ने बाटोमा। एकोहोरो नारायणहिटीको जयजयकार गरे हुने पद्धतीबाट अब कैंयौ 'नारायण'हरुको स्तुती गर्नुपर्ने बेला आयो। यसरी नारदहरुको आलाप आपसमानै बाझिन लाग्यो। र, एकलरुपमा श्रीपेचमा सिउरिइएको राष्ट्रियता संबैधानिक राजाको एक्लो पेवा बन्यो।
केही समय त्यसरी विचारहरुको लडाईंमा ओझेल परेको राष्ट्रियताको आड लिएर फेरी माओवादी जंगल पसे। 'स्वतन्त्र' बौद्धिकहरुलाई अर्को फसाद पर्यो- चर्को राष्ट्रियता माओवादीको समर्थनको रूपमा बुझिने बेला आयो। त्यसैले, फेरी राष्ट्रियता जङगलमा सिमित भयो।
माओवादीको शान्तिपूर्ण अवतरणपछि भने फेरी राष्ट्रियताले कोल्टे फेर्यो, र हेर्नेहरुले राष्ट्रियताको अर्को रूप देख्न थाले - जातिय आन्दोलन बिरोधी रङग।
माओवादीले आफ्नो दशबर्शे 'जन्युद्ध'को सबै भन्दा महत्व्पूर्ण उपलब्धि राजतन्त्रको बर्खास्तगी मान्ने गरेका छन्। तर, देशको दीर्घकालीन संरचनाको हिसाबले माओ-वादी आन्दोलनको नेपालको लागि सबैभन्दा महत्वपूर्ण र दुरगामी असर हो - जातिय आन्दोलनको उठान। उनिहरुले आँफैले कोट्याएको यो घाऊ अब धेरैलाई चह्र्याउने चोट बनेर लामो समय रही रहने छ। अहिले देशको मुख्य राजनीतिक समस्यानै यसको समाधान हो।
यसरी गणतन्त्रको घोषणापछी राष्ट्रियता दोहोरो चेपमा पर्यो। एकापट्टी माओबादीको चर्को बहस गर्ने बानीले मध्यमार्गी बौद्धिकवर्गको आवाज सुन्नै नसकिने गरी दबायो। राष्ट्रियताको कुरा गर्ने कि त राजावादी प्रतिकृयावादी बनाइयो कि त जातिय आन्दोलन विरोधी। अहिले पनि विरोध गर्नेहरु यही आलाप गरीरहेका छन।
भावनाको कुरा?
हुन त राष्ट्रियता विशुद्ध भावनाको कुरा हो। भौतिकवादीहरुले विगत दुई सय वर्षदेखी नै यही आधारमा राष्ट्रियताको गौणता सिद्ध गरिरहेका छन् तर त्यो गौणता उनिहरुका मनिफेस्ट्रोमा मात्रै सिमित छन्। वास्तविकतामा, आम मान्छेको 'भावना'मा, अन्तर-राष्ट्रिय सम्बन्धको निर्धारकको रूपमा र नागरिक हितको लडाईमा 'राष्ट्र'को महत्व कायमै छ।
विश्व-राज्यको मान्यता महज कल्पना मात्र हो अहिलेको विश्वको अवस्था हेर्दा। भुमन्डलीकरण, पूँजीवादी व्यवस्थाको विस्तार सँगै अर्ध-साम्राज्यवादी भु-रज्नितिक यथार्थमा निस्वार्थ 'राष्ट्रियता'को भावना बाहेक अरु कुनै सिद्धान्तले हित संरक्षण गर्ने देखिदैंन। सोझो अर्थमा भन्दा हाम्रो 'नेपाल' र हामी 'नेपाली' भन्ने स्पश्ट चेतना भावनात्मक रुपमा देशबासीहरुमा नभए सम्म भोलीका दिनमा 'नेपाल' वास्तविकतामा रहने छ भनेर भन्नु नै मुर्खता हुनेछ। त्यसैले, यो महज भावनाको कुरा हो भन्नेहरुका स्वार्थ र प्रेरणा स्रोतहरु केलाउनु जरुरी छ।
सबैले बुझ्नै पर्ने कुरा के हो भने - ऐतिहासिक अन्यायको घाऊमा बेसार लगाउन होस् वा भागबंडामा बराबरको अंशियार बन्न होस्, सिङो राष्ट्रको संरचना भित्र रहेर मात्र त्यो सम्भव हुन्छ। त्यो संरचना बलियो हुनको लागि भित्र कस्तो बाँड्फाँड हुन पर्छ भन्ने कुरा गुट्गत स्वार्थ, सिद्धान्त, भविष्यको कल्पना र प्रशासनिक सुविधाको सन्तुलनले निर्धारित गर्ने जटील प्रश्न त छँदै छ। तर सबैको हितको लागि राष्ट्ररुपी संस्थाको आन्तरिक र अन्तर्राष्ट्रिय मर्यादा उच्च हुनै पर्छ। र, यसको लागि भित्री रुपमा भावनात्मक सम्बन्ध बलियो हुनै पर्छ। नत्र, विलियम बट्लर यीट्सले भने जस्तो - केन्द्रले थेग्न सक्दैन , टुक्रा टुक्री छिरलिन्छन् (थिङ्स फल एपार्ट, सेन्टर क्याननट होल्ड!)।
हराएको धुरी
अहिले नेपाली समाजमा र राजनीतिमा कमजोर राष्ट्रियताको भावनाको असर प्रत्यक्ष देखिन थालेको छ। युवाहरुको विदेशिने लहरमा कती यसले मदत गरेको छ, सोच्नै पर्ने विषय हो। र, सामान्य गुजाराको लागि नै विदेशिन पर्ने आर्थिक अवस्थाले राष्ट्रियताको भावनामा फेरी कस्तो पलट्वार गरिरहेको छ, यो पनि विश्लेशण गरिनै पर्छ । राष्ट्रिय मुद्दामा असह्मति र जातिय आन्दोलनमा हिंसाको सहजता देखी लिएर अति-ध्रुवीकरणमा प्रतक्ष्य-अप्रतक्ष्य रूपमा राष्ट्रिय चेतको अभावले भूमिका खेलेको हुन पर्छ।
एक अर्थमा, स्वतन्त्र रूपमा राष्ट्रियताको पक्षपात गर्ने बौद्धिकवर्गको अभावले देशको राष्ट्रियता चेतमा असर गर्यो। यसरी कमजोर भएको राष्ट्रियता चेतले राजनीतिक दलहरुलाई समुहगत स्वार्थका एजेन्डाहरुलाई मुख्य मुद्दा बनाएर राजनीति गर्न वाध्य बनायो। र, तीनै समुहका प्रतिनिधी नेताहरु पनि आँफैमा राष्ट्रियताको भावनाको कमीले गर्दा राष्ट्रिय नेता बन्न सकेनन, आआफ्ना गुटका सांढे जुधाउने गोठाला मात्र भए। यो साँढे-जुधाई अवस्थाको जिम्मेवारी नेपालको प्रजातन्त्र पछीका बौद्धिकहरुले लिनै पर्छ। र, अब स्वतन्त्र बौद्धिकहरुले राष्ट्रियताको धुरी खोज्नै पर्छ।
बौद्धिक वर्ग, आम जनता र राजनीतिक दलहरुको 'पाप' धुरी बाट कराएको त धेरै भै सक्यो - हराएको राष्ट्रियता खोज्दै।