भैरहवा, श्रावण ९ - तिनाउ र दानव नदीमा आएको बाढीले चारतिरबाट घेरेपछि भगवानपुर ७ स्थित भर्तापुर टापुमा परिणत भएको छ । बस्ती डुबानको उच्च जोखिममा छ । ७० परिवारको बसोवास रहेको भर्तापुर गाउँ सोमबारको अविरल वर्षापछि आएको बाढी गाउँमा पसेपछि जोखिममा परेको हो ।
उत्तर, पश्चिम र दक्षिणबाट पानीले घेरिएको गाउँ पूर्वतिर रोहिणीहवाको खकरौं छ । यो मात्रै गाउँको निकास भयो । बाढीले पूर्व जाने कलभर्ट जोडेको पुलसहित सोमबार बगाउनुका साथै नदीको पानी चारैतिर घेरिएपछि भर्तापुर टापुमा परिणत भएको हो । गाउँ डुबाउने डरले बासिन्दा त्रसित छन् ।
'भर्तापुर गाउँ टापुमा परिणत भएको छ र संकटमा पर्ने स्थिति छ,' मंगलबार स्थलगत निरीक्षण गरेर फर्केका जिल्ला दैवीप्रकोप उद्धार समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने, 'गाउँलाई सुरक्षित राख्न कसरी सकिन्छ ? भन्नेबारे तत्काल बैठक बसेर कार्यान्वयन गर्ने छौं ।
प्रजिअ पन्थीका अनुसार, हरेक वर्षायामको बेलामा पानी पर्नासाथ ३ तिरबाट नदीले घेरेका कारण जोखिम बढेको हो । सोमबार परेको वर्षा दिउसो २ बजेपछि रोकिए पनि नदीमा बाढी कम हुँदै गएकाले गाउँ थप विपत्ति हुनबाट जोगिएको हो । नदीमा बाढी आउनासाथ कुनै पनि बेला डुबाउन सक्छ ।
भर्तापुरवासीको अन्य गाउँ र स्थानमा आवतजावत, सम्पर्कसमेत विच्छेद भएको छ ।
बाबुछोरीको शव फेला
नवलपरासी- राकाचुली गाविसमा बाढीले बगाएर आइतबार बेपत्ता भएका ५ मध्ये बाबुछोरीको शव ३ दिनपछि मंगलबार खोलाकिनारमा फेला परेको छ । इलाका प्रहरी कावासोतीका डीएसपी विमल बस्नेतका अनुसार राकाचुलीबाट बेपत्ता ४० वर्षीय फूलमानसिंह राई र छोरी १८ वषीया विमलाको शव पर्सौनीस्थित खोलामा भेटिएको हो ।
पूर्वपश्चिम राजमार्ग अरुणखोला र चोरमारा बजारको दक्षिणमा पर्ने पर्सौनी ८ स्थित गणारखोला किनारमा उनीहरूको शव फेला परेको हो ।