पर्सा, श्रावण ७ - नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले आफूहरू बिना पूर्वसर्त वार्तामा आउन तयार रहेको बताएका छन् । 'सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रले वातर्ाका निम्ति गरेको औपचारिक आह्वान सकारात्मक छ,' वीरगन्जमा आइतबार बोल्दै अध्यक्ष वैद्यले भने, 'तर पत्रमा संविधानसभा निर्वाचनका लागि छलफल गर्न भनी प्रयोग गरिएको शब्दले वार्ताका लागि पूर्वसर्तको आभास दिएको छ ।'
आफ्नो पार्टी र ३३ दललाई पनि त्यो भाषा र पूर्वसर्तमा आपत्ति रहेको उनले बताए । उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आफूहरूले यसबारे कुरा गरेको वैद्यले बताए । 'दाहालले पूर्वसर्त होइन, तपाइर्ंहरू वातर्ामा आउनुपर्यो भनी हामीलाई आग्रह गर्नुभएको छ,' वैद्यले भने, 'उहाँले संयन्त्रको बैठकमा पत्रको भाषाबारे छलफल गरेर प्रस्ट गरिन्छ भन्नुभएको छ तर अहिलेसम्म त्यसो गरिएको छैन ।'
फरक प्रसंगमा एनेकपा माओवादीसँग चुनावअघि एकीकरण वा चुनावमा सहकार्य गर्ने रत्तिभर सम्भावना नरहेको दाबी गर्दै वैद्यले भने, 'सैद्धान्तिक विचलन भएकैले एक ठाउँमा बस्न नसकिएको हो, एकीकरणको वा चुनावमा सहकार्यको सम्भावना छैन ।' आफूहरू वार्तामा गइहाले पनि मंसिर ४ मा चुनावको सम्भावना नभएको दाबी गर्दै अध्यक्ष वैद्यले वार्तामा यस्तै किसिमले सरकार प्रस्तुत भए वार्ताको कुनै औचित्य नहुने बताए । आफ्नो दल चुनाव बहिस्कार वा गणतन्त्रको पक्षबाट पछि हटेको नभई लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लागिपरेको उनले बताए ।
अहिलेको राजनीतिक संकटको निकास चैत १ को राष्ट्रपतिको कदम खारेज र प्रधानन्यायाधीश नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय राजनीतिक गोलमेच सम्मेलन मात्र रहेको उनको भनाइ थियो । संयुक्त राष्ट्रिय सरकार र त्यसै सरकारमार्फत निकास र संविधानका अन्तरबस्तु कस्ता हुन्छन् भनी त्यहींबाट निर्णय हुनुपर्ने उनले बताए ।
प्रकाशित मिति: २०७० श्रावण ७ ०८:४५