Thursday, August 22

इतिहाससँगको साक्षात्कार ‘द लास्ट मोनार्क’ र ‘झोला’

यतिखेर काठमाडौँमा एउटा वृत्तचित्र र अर्को एक ऐतिहासिक चलचित्रको लोकप्रियताका विषयमा विशेष चर्चा चलिरहेको छ । वृत्तचित्र ‘द लास्ट मोनार्क’ र ऐतिहासिक नारी प्रधान चलचित्र ‘झोला’ ले नेपालको राजनीतिक र सामाजिक इतिहासलाई कथावस्तु बनाई इतिहासका पारखीसमक्ष पस्केका छन् ।
चलचित्रले कुनै पनि देशको सामाजिक यथार्थलाई पर्दामा उतारी जीवन्त बनाउने काम गर्छ । यसले मनोरञ्जन दिनेमात्र नभई शिक्षा, सूचना र उत्प्रेरणा पनि प्रदान गर्दछ । त्यसैले विश्वमा चलचित्रलाई पनि आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिने गरिन्छ ।
‘द लास्ट मोनाक’ (अन्तिम राजा) वृत्तचित्रले नेपालको करिब साढे दुई सय वर्षको शाहवंशीय राजतन्त्रको उत्थान र पतनका कारणसहितका समग्र पक्षलाई वास्तविकताका आधारमा उतारेको छ । यसले विशेषतः नेपालबाट राजतन्त्रको अन्त्य किन र कसरी भयो भन्ने विषयलाई समेटेको छ ।
त्यस्तै ‘झोला’ कथानक चलचित्रले नेपाली परिवेशमा आएको यस्तो नयाँ अवधारणाको चलचित्र हो जसले नेपालमा विगतमा रहेको सती प्रथालाई आफ्नो कथावस्तु बनाएको छ । जिउँदो महिलालाई तिनको मरेका पतिको लाससँगै जलाउने जस्तो पाशविक एवम् क्रुर परम्परालाई यस चलचित्रले देखाएको छ । त्यसैले यी दुवै चलचित्र नेपालको राजनीतिक र सामाजिक इतिहासलाई प्रष्ट रुपमा बुझ्न सघाउने अति यथार्थवादी ऐतिहासिक श्रव्य–दृष्य दस्तावेज बनेका छन् ।
द लास्ट मोनार्क साउन महिनाभरी काठमाडौँका विभिन्न चलचित्र भवनमा चलेको थियो । नेपालको शाहवंशीय राजतन्त्रको इतिहासबाट कुनै नेपाली पनि अपरिचित एवम् टाढा छैनन् । राजतन्त्रको वरिपरि रहेका नेपालका पुराना शासक, प्रशासक हुन वा इतिहासका अध्यापक एवम् विद्यार्थी, नेपालमा राजतन्त्रको अवशान र गणतन्त्रको प्रादुर्भावको साक्षी बनेका सबै नेपाली दर्शक नै यस ऐतिहासिक तथ्यलाई चलचित्रको पर्दामा हेरेर आत्मसात् गर्न निकै इच्छुक देखिएका थिए ।
‘‘छोटो समयमा यस वृत्तचित्रप्रतिको लोकप्रियता बढ्नुमा घटना र कारणको यथार्थ विश्लेषण प्रमुख हो’’– भन्नुहुन्छ यस चलचित्रका निर्देशक रमेश खड्का । उहाँ आफू पनि पत्रकारिताको विद्यार्थीका साथै यसअघि पनि नेपालको आर्थिक, सामाजिक एवम् राजनीतिक परिवेशका विविध वृत्तचित्रहरू बनाएकाले यसलाई पनि बढी यथार्थमा आधारित गरेको बताउनुहुन्छ ।
काठमाडौँको सबैभन्दा आधुनिक एवम् ठूलो क्षमताको क्युएफएक्स हलमा यो वृत्तचित्र लगातार चारहप्ता चल्यो । वृत्तचित्रहरू ठूला हलमा चल्दैनन् र प्रायः चलेपनि एक÷दुई हप्ताभन्दा बढी चल्दैनन् । तर पुस्तकमा पढेको अथवा शिक्षकबाट सुनेको इतिहासलाई श्रब्यदृष्यमै हेर्न पाउनु यसको प्रमुख आकर्षण थियो ।
सयौँ वर्ष नेपाली राजतन्त्र कसरी चल्यो, विगतदेखि अन्तिमसम्मका विभिन्न कालखण्डहरूमा नेपालको राजतन्त्रभित्र के कस्ता षड्यन्त्र भए र त्यो विरासत समाप्तिको बिन्दुसम्म कसरी पुग्यो भन्ने यथार्थलाई यसले समेटेको छ । वृत्तचित्रमा त्यसले समेट्न खोजेको कालखण्डबारे डा सुरेन्द्र केसी, जगदीश घिमिरे, रामकृष्ण रेग्मी, विवेक शाह, प्रा आनन्द आदित्य आदिका प्रत्यक्ष टिप्पणीले दर्शकलाई धेरै तथ्यहरूको जानकारी दिन्छ ।
त्यस्तै अर्को चलचित्र ‘झोला’ कथाकार कृष्ण धरावासीको कथा हो र यसले नेपालको विगतमा विद्यमान सती प्रथाको अवस्था र त्यस प्रथाभित्रको नारी बेदनालाई समेटेको छ । आजभन्दा सयवर्ष मात्र अघिको खासगरी बाहुन क्षेत्री जातिमा प्रचलनमा रहेको सती प्रथाको कारुणिक दृष्यलाई यस चलचित्रको कथामा उतारिएको छ ।
त्यो समयमा प्रचलनमा रहेका बहुविवाह, अनमेल विवाह, दासप्रथा जस्तै सती प्रथाबाट उत्पन्न पारिवारिक तथा सामाजिक मनोदशालाई यसमा चित्रण गरिएको छ । वृद्ध पुरुषले जतिसुकै उमेरका युवती पनि विवाह गर्न पाउने र पतिको मृत्यु भएपछि श्रीमतीले सती जानुपर्ने परम्परा नेपालका साथै भारतमा पनि विद्यमान थियो । मरेका पतिका लाशसँगै भर्खरका युवतीलाई जलाइन्थ्यो । कुनैपनि महिलाले आफू सती जान्न भनेर पनि पाउँदैनथे र घाटमा लाशसँगै लगिने श्रीमतीलाई सती जान नमानेमा मलामीहरूले नै कुटेर मार्ने र पतिकै चितामा जलाएर आउने गर्दथे ।
यस्तो परम्परालाई हिन्दु धर्मसँग जोडिएको थियो । त्यसैले धर्मका विरुद्धमा जाने अघिकार कसैलाई पनि थिएन । धरावासीको त्यस कथामा पनि वृद्ध पतिसँग एक युवतीलाई सती जान कर गरिन्छ । उनी एक वृद्धकी दोस्री श्रीमती थिइन् र छोरा भर्खर १० वर्षको हुन्छ । हुनत ती युवतीलाई उनका पतिले ‘छोरा सानो छ, तँ मेरो सती नजानु’ भनेका हुन्छन् । तर समाजले त्यो मान्दैन । उनले सती जानैपर्ने हुन्छ । उनलाई घाटमा लगिन्छ र निर्वस्त्र पारी पतिकै चितामा राखिन्छ । त्यो दृष्य ती १० वर्षे छोराले रुखको छेल पारेर हेरिरहेको र रोइरहेको हुन्छ ।
छोराको त्यो अवस्था देखेकी आमाले पतिसँगै चितामा जल्न मान्दिनन् र उनी चिताबाट विस्तारै हामफाल्छिन् । घाटमा रात परिसकेकाले उनी नदीको तिरबाट अलप हुन्छिन् र त्यो दृष्य छोराले पनि देख्दैन । सबै मलामी चिताबाट परै रहेकाले ती युवती जलेकै भन्ठान्छन् । उनी निर्वस्त्र रुपमै जङ्गलतिर उक्लिन्छन् र ओढारमा बस्छिन् । केही रात निर्वस्त्र रुपमै र भोकै त्यस ओढारमा बिताएकी उनलाई आफ्नै छोराले भैँसी चराउन जङ्गल गएको बेला देख्छ र गाउँलेले थाहापाए भने मार्ने डरले ती आमाछोरा बिदेसिन्छन् ।
यो कारुणिकताभित्र त्यस समयको नेपाली नारीको अवस्था समेटिएको छ । कतिपय नारी आगो खप्न नसकेर पतिको चिताबाट उछिट्टिएर भाग्न खोज्दा मलामीले ढुङ्गाले हानेर मार्छन् र त्यही चितामा जलाएर आउँछन् ।
नेपाली नारीहरूको यो चित्कारपूर्ण अमानुषिक यातनाको परम्परालाई राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सधैँका लागि अन्त्य गराएका थिए । यी सबै परिवेशलाई त्यो समयको नेपाली समाज, रहनसहन, भेषभूषा र वातावरणमा यो चलचित्रको कथावस्तु तयार पारिएको छ ।
जिउँदै नारी जलाउने यो कुप्रथासँग दरवारभित्र सत्ता र गाउँमा सम्पत्तिको स्वार्थ समेत जोडिन्थ्यो । अकालमा मात्र होइन कलिलै उमेरमा कयौँ नारीको ज्यान जान्थ्यो । मानिसलाई जिउँदै जलाएर मार्न पाउने कानुन नै रहेपछि त्यसले समाजमा नारीलाई कुन तहको रैती बनाएको थियो भन्ने यथार्थलाई यस चलचित्रले राम्रोसँग चित्रण गरेको छ ।
यस चलचित्रका निर्देशक यादवकुमार भट्टराई आफूले उक्त कथा पढेपछि सयवर्षमात्र अघिका नेपाली नारीले भोगेको त्यो पाशविक यथार्थलाई चलचित्रको पर्दामा उतार्ने उत्कट चाहनाका कारण यो चलचित्रको निर्माणमा संलग्न भएको बताउनुहुन्छ ।
नेपाली चलचित्रको इतिहासमा अति यथार्थवादी धारको प्रतिनिधित्व गर्न यस ‘झोला’ चलचित्रले नेपाली दर्शकसामु अलग्गै छाप बनाउने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ । सयवर्षमात्र अघिको यही देशको यथार्थ भए पनि अहिलेका युवा पुस्ता र नारी अधिकारवादीका लागि समेत एकादेशको कथा भइसकेको यस वास्तविकतालाई त्यही रुपमा श्रब्यदृष्यमा हेर्न पाउनु नेपाली दर्शकका लागि एउटा ठूलो अवसरको विषय हुने उहाँको ठहर छ ।
झोला कथाका लेखक कृष्ण धरावासी नेपाली समाजले विगतमा भोगेको यस कटु यथार्थले नेपाली दर्शकका सामु चलचित्रको पर्दामा स्थान पाउनुले आफूलाई अत्यन्त खुसी तुल्याएको बताउनुहुन्छ ।
उक्त चलचित्रमा लेखक धरावासी र उहाँकी श्रीमती एवम् कथाकार मञ्जु बिमली पनि अतिथि कलाकारका रुपमा चलचित्रमा उपस्थित रहनुभएको छ । त्यस्तै कलाकारहरू गरिमा पन्त, देशभक्त खनाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, प्रल्हाद खतिवडा, गीता नेपाल, रामगोपाल तथा बाल कलाकारमा सुजल नेपाल हुनुहुन्छ ।
यसको छायाङ्कन धादिङ, नुवाकोट र झापामा गरिएको छ । रामगोपाल थापा, राज तिमिल्सिना, मालती शाह र सुशील शाहद्वारा निर्माण गरिएको यस चलचित्र निर्माणका लागि छ वर्षदेखि अध्ययन र अनुसन्धान गरिएको हो । निर्देशक भट्टराईले असोज महिनाको पहिलो साता नै सो चलचित्र सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो ।