Friday, August 30

साफ च्याम्पियनसिपका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं, भाद्र १२ । आगामी शनिवारदेखि काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलको लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । प्रतियोगिताको आयोजक समेत रहेको अखिल नेपाल फुटलब संघ एन्फाले आज एक कार्यक्रम आयोजना गरी राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरेको हो । 
२० सदस्यीय टोलीको कप्तानमा सागर थापा रहेका छन् । टोलीमा तीन गोलकिपरहरु किरण चेम्जोङ, रितेश थापा र विशाल श्रेष्ठ राखिएको छ । त्यसैगरी ६ डिफेन्डरहरु सागर थापा, रोहित चन्द, सन्दीप राई, विराज महर्जन, रविन श्रेष्ठ र सविन्द्र श्रेष्ठलाई टोलीमा राखिएको छ । 

मिडफिल्डरहरुमा भोला सिलवाल, राजु तामाङ, विक्रम लामा, जगजित श्रेष्ठ, टंक बस्नेत र प्रकाश बुढाथोकी छानिएका छन् भने स्ट्राईकरहरुमा अनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल, भरत खवास र विमल घर्तीमगरले अन्तिम नामावलीमा ठाँउ बनाएका छन् । 

बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीहरुमध्ये निराजन खड्का, विजय धिमाल, अनन्त तामाङ, टेक वहादुर बुढाथोकी र विजय गुरुङ अन्तिम छनौटमा फालिएका छन् । 

शनिवार सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपालको समूहमा भारत र पाकिस्तान पनि रहेका छन् भने अर्को समूहमा अफगानिस्तान, मालदिभ्स, श्रीलंका र भुटान रहेका छन् । 
प्रतियोगिताका लागि अफगानिस्तानको राष्ट्रिय टोली आज काठमाडौं आईपुगेको छ ।