Sunday, August 25

बैदेशिक रोजगारीमा जान लागेका २०० युवालाई एयरपोर्टमा रोक

Rameshwar Yadavकाठमाडौं, भाद्र ५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० जना थप उच्च अधिकारीलाई वर्षौंदेखि ट्रान्सफरमर खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गर्दै आएको अभियोगमा छानबिनका लागि मंगलबार पक्राउ गरेको छ । ट्रान्सफरमर घोटाला प्रकरणमा छानबिनका लागि प्राधिकरणका ११ अधिकारीलाई गिरफ्तार गरेको तीन सातापछि अख्तियारले थप १० उच्च अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारले सेवाग्राहीसँग घूस लिएको भिडियो प्रमाणसहित अध्यागमन विभागका शाखा अधिकृत सूर्यप्रसाद दाहालसहित पाँच जनालाई पनि मंगलबारै छानबिनका लागि गिरफ्तार गरेको छ । अख्तियारकै विशेष टोलीले वैदेशिक रोजगार विभागका निर्देशक (उपसचिव) रमेश मैनालीसहित पाँच जनालाई समेत म्यानपावर कम्पनीसित घूस लिई कम्पनी नै अनधिकृत रूपमा परिवर्तन गरी नेपाली कामदारलाई विदेश पठाउने क्रममा आइतबार नै नियन्त्रणमा लिएको छ ।
प्राधिकरण र अध्यागमन विभागका गिरफ्तार गरिएका अभियुक्तहरूलाई अख्तियारकै हिरासतमा राखिएको छ । ट्रान्सफरमर खरिद प्रकरणमा प्राधिकरणका यसअघि गिरफ्तार गरिएका ११ जना पनि अख्तियारकै हिरासतमा छन् । वैदेशिक रोजगार विभागबाटै नियन्त्रणमा लिइएका पाँच जनालाई भने हिरासतमा लिने/नलिनेबारे अभियोगको गाम्भीर्यताको अध्ययन भइरहेको जानकारी अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले दिए । अख्तियारका अनुसार प्राधिकरणको ट्रान्सफरमर प्रकरणमा करोडौं भ्रष्टाचार भएको पाइएको छ ।
गिरफ्तार गरिएकामा यादवसहित प्राधिकरणका पूर्वकार्यकारी निर्देशक जीवेन्द्र झा, योजना प्रमुख कृष्णबहादुर थापा, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, पूर्वउपकार्यकारी निर्देशक टीकाराम बीसी, उपनिर्देशक (लेखा) कृष्ण बहादुर केसी, ११ औं तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल, विद्युत् विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य र इन्जिनियर प्रमोद रिजाल छन् ।
अख्तियारले प्राधिकरणमा लामो समयदेखिको ट्रान्सफरमर खरिदमा ठूलो घोटाला भएको र आरोपितहरूले प्रमाण नष्ट गर्ने, लुकाउने सम्भावना रहेकाले प्रकरणको गम्भीरता हेरी उनीहरूलाई गिरफ्तार गरिएको स्रोतले उल्लेख गरेको छ ।
कमसल गुणस्तरको ट्रान्सफरमर खरिद प्रकरणमा अनुसन्धान तीव्र पारिएको र छिट्टै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिने जानकारी अख्तियारका एक अधिकारीले दिए ।
मुद्दा दायर भएपछि प्राधिकरणका बहालवाला अधिकारी स्वतः पदबाट निलम्बन हुनेछन् ।
अख्तियारको विशेष टोलीले अध्यागमन विभागका शाखा अधिकृत दाहालसहित पाँच जनालाई सेवाग्राहीसँग घूस लिएको श्रव्यदृश्य प्रमाणसहित भ्रष्टाचारको अभियोगमा थप छानबिनका लागि पक्राउ गरी हिरासतमा लिएको छ । अख्तियारद्वारा जारी विज्ञप्तिमा आयोगको विशेष टोली खटिई गएको अवस्थामा सेवाग्राहीसँग रकम लिने क्रममा खिचिएको श्रव्यदृश्यसहित शाखा अधिकृतद्वय सूर्यप्रसाद दाहाल र देवषिर् सापकोटा, नायब सुब्बाद्वय प्रदीपप्रसाद लामिछाने र विश्वराज पोखरेल तथा कार्यालय सहयोगी जयनारायण नापितलाई हिरासतमा लिइएको हो ।
अख्तियारको विशेष टोलीले मंगलबार वैदेशिक रोजगार विभागमा स्थलगत जाँचका क्रममा विभागका निर्देशक एवं अन्तिम स्वीकृत शाखा प्रमुख रमेश मैनालीसहितलाई म्यानपावर कम्पनीसित मिलेमतो गरी एउटा कम्पनीका लागि स्वीकृति लिएका नेपाली कामदारलाई नक्कली कागजातका आधारमा अर्कै कम्पनीमा पठाउने क्रममा गिरफ्तार गरेको हो ।
गिरफ्तारी परेकामा विभागका मैनालीसहित शाखा अधिकृत दीपक खतिवडा, नायब सुब्बा चन्द्रहरि लुइँटेल, कम्प्युटर अपरेटर रामप्रसाद पोखरेलसहित छन् । अख्तियारले विभागबाट तलबसुविधा र पदसहित कतारको एउटा कम्पनीमा पठाउन स्वीकृति लिएको म्यानपावरलाई घूस लिई नक्कली कागजातका आधारमा अर्कै कम्पनीमा पठाउन स्वीकृति दिने क्रममा गिरफ्तार गरेको स्रोतले उल्लेख गरेको छ ।
अख्तियारको गिरफ्तारीमा को-को ?
विद्युत् प्राधिकरण
कार्यकारी निर्देशक रामेश्वर यादव, पूर्वकार्यकारी निर्देशक जीवेन्द्र झा, योजना प्रमुख कृष्णबहादुर थापा, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, पूर्वउपकार्यकारी निर्देशक टीकाराम बीसी, उपनिर्देशक (लेखा) कृष्णबहादुर केसी, ११ औं तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल, विद्युत् विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य र  इन्जिनियर प्रमोद रिजाल ।
वैदेशिक रोजगार विभाग
निर्देशक रमेश मैनाली, शाखा अधिकृत दीपक खतिवडा, नायव सुब्बा चन्द्रहरि लुइँटेल, कम्प्युटर अपरेटर रामप्रसाद पोखरेल ।
अध्यागमन विभाग
शाखा अधिकृतद्वय सूर्यप्रसाद दाहाल र देवषिर् सापकोटा, नायव सुब्बाद्वय प्रदीपप्रसाद लामिछाने र विश्वराज पोखरेल तथा कार्यालय सहयोगी जयनारायण नापित ।