Thursday, July 31

मौसमले साथ दिए मोदी लुम्विनी जाने

काठमाडौं, श्रावण १५ - छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा जलबायु तथा मौसम परिवर्तनले ठूलो महत्व राख्ने भएको छ । त्यो महत्व कुनै सम्झौताको लागि नभएर मोदीको काठमाडौं बाहिर जाने वा नजाने भन्ने विषयमा केन्द्रित भएर हो । आइतबार विहान विशेष विमानमा दुई दिनको लागि राजधानी आइपुग्ने मोदीले नेपाल भ्रमणको क्रममा जनकपुर र लुम्विनीको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका थिए ।
विमानस्थल, भौतिक पूर्वाधार, सुरक्षा लगायतका विविध कारणले मोदी जनकपुर नजाने निश्चित भएको छ । उनको लुम्विनी भ्रमणको सम्भावना भने अझै टरेको छैन् । लुम्विनी र जनकपुर मध्ये एक स्थानमा उनलाई लैजान नेपाल सरकारको पनि चाहना रहेकोले मौसमले साथ दिए मोदी सोमबार अपरान्ह लुम्विनी जाने छन् ।
सबै दृष्टिकोणबाट भ्रमणको तिव्र तयारी भैरहेको अवस्थामा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संवाददाताहरुसँग भने - 'उहाँको लुम्विनी भ्रमणको सम्भावना अझै टरेको छैन् । सोमबार मौसमले साथ दिए उहाँ लुम्विनी जानुहुनेछ । मौसम विधहरुसँग त्यो दिनको मौसमबारे छलफल भइरहेको छ ।'
१७ बर्ष पछि भारतको तर्फबाट हुन लागेको यो स्तरको भ्रमणमा उनले चाहना गरेको स्थानमा लैजान नेपाल सरकारले भरपुर प्रयत्न गर्ने पाण्डेले स्पष्ट पारे । मोदीको अन्य कार्यक्रमहरुको तयारी भइरहेको अवस्थामा उनको त्यो भ्रमणको पनि तयारी अघि बढेको र लुम्विनीको सुरक्षा अवस्थाबारेमा जानकारी भइरहेको र मौसमले साथ दिए उनले भारतबाटै ल्याएको चोपर विमानमा लुम्विनी जानेछन् ।
मौसम पूर्व अनुमान महाशाखाले पनि त्यो दिनको मौसम अहिले नै बताउन नसक्ने जानकारी दिएको छ । उनीहरुले कुनै पनि मौसमको तीन दिन अगाडीमात्र सबै जानकारी दिन सक्ने प्रविधी आफूहरुसंग रहेको बताए । शनिबार साँझमात्र त्यो बारेमा जानकारी हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार शुक्रवारदेखि नै मनसुन सक्रिय हुने देखिएको छ ।
'लगातार केही दिन पानी पर्ने र बदली भईरहने हुन सक्छ' पौडेलले भने, 'मौसमको विस्तृत विवरण चाँही तीन दिन अघि मात्रै भन्न सक्छौं ।' उनका अनुसार विहीवारदेखि नै मुलुकको आकाशमा बदली सुरु हुनेछ र पानी पार्ने प्रणाली विस्तार हुन सक्नेछ ।
उनको अन्य भेटघाट तथा कार्यक्रमहरु यसअघि नै सार्वजनिक भइसकेकोले अहिले मोदीको भ्रमणमा के गर्न सकिन्छ भनेर सरकार लागि परेको परराष्ट्र मन्त्रालयको समन्वयमा कामहरु भइरहेको मन्त्री पाण्डेले बताए । पाण्डेको अनुसार सामान्य पूर्वाधारको विषय र दलहरुबाट सहमति भएर आएमा विद्युत ब्यापार सम्झौता (पिटिए) भने हुनेछ । मोदीसँग आउने मन्त्रीहरुको बारेमा यहाँहुने सम्झौतामा भर गर्नेछ ।
विगत सात दिन देखी परराष्ट्र मन्त्रालयका अधिकारीहरु विहान सात बजे देखि राती नौ बजेसम्म काम गरिरहेका छन् । तर पनि सवारी चलाउने लायतको विषयमा यसरी नै अघि बढ्ने भन्ने टुंगो लागेको छैन । त्यसमा विभिन्न अभ्यासहरु र परम्पराको बारेमा छलफलहरु अघि बढेको अधिकारीले जानकारी दिए ।
कार्यदल छलफलमा नै केन्द्रित
भारतसँग गरिने सम्झौताको लागि दलहरुको तर्फबाट बनेको संयुक्त कार्यदलले बुधबार उर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री लगायतसँग छलफल भएको कार्यदलमा सहभागी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । उनले विद्युत उत्पादन र विद्युत ब्यापारलाई छुट्याएर छलफल अघि बढाउन दलहरु सहमत भएको बताउदै त्यसमा पनि भारतलाई मात्र नभनी भारतसितको सम्झौता भन्ने जस्ता प्राविधिक पक्षमा छलफल भएको  बताए । भारतले भने दुवैलाई एकै स्थानमा राखेर पठाएकोले यसमा छलफल भएपछि टुंगो लाग्नसक्ने श्रेष्ठले बताए । विद्युत ब्यापारमा नेपालको कुरालाई भारतले ध्यान दिए सम्झौता हुने पनि उनको धारणा छ ।
परराष्ट्र मन्त्री पण्डेले पनि भारतसंग पिटिए र पूर्वाधार निर्माणमा नै अडेर काम अघि बढ्ने बताए । उनले भने, 'यो भ्रमणले दुईपक्षीय विश्वासलाई अघि बढाउछ । सम्वन्धका विवादहरु सल्टिदै सललल अघि बढ्नेमा आफू निश्चिन्त छु ।' उनले अन्तरदेशीय विद्युत प्रसारण लाइनमा पनि जोड दिने भएको बताए ।
दलहरु भारतले दिदै आएको पाँच करोड सम्मको साना आयोजना बजेट मार्फत आउन पर्ने र भारतबाट कन्सुलर कार्यालयको लागि प्रस्तावित विराटनगरमा रहेका फिल्ड अफिस बन्द गर्न पनि दलहरु सहमत भएको बताए । यद्यपि यस विषयमा दुई पक्षीय छलफलमा टुंगो लाग्ने पाण्डेले जानकारी दिए । उनले भारतले ठूलो आयोजना दिने वा नदिने भन्ने विषय उनीहरुको रहेको भन्दै उनले भने अव साझेदारीमा नै अघि बढ्ने हो । मोदीको चाहना पनि त्यही हो भन्ने सरकारको बुझाई रहेको पाण्डेले बताए ।