काठमाडौ, श्रावण १५ - ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुल कक्षा ९ मा अध्ययरत छात्रा मिङसोमा अन्छङबो लिम्बुलाई बोनम्यारो (फ्यान्कोनि एनेमिया) रोग लागेपछि अहिले उपचारको क्रममा छिन् ।
उनको बुवा दिलेन्द्र र आमा डम्बरकुमारी लिम्बु पुख्र्यौलीघर खेजेनिम-३, ताप्लेजुङमा बस्छन् भने उनी ललितपुर-१४ नखिपोटस्थित मामाघरमा बसेर पढ्दै आएकी छिन् । केही समयदेखि मिङसोमालाई ज्यादै थकाई लाग्ने गरेपछि अभिभावकले गत वैशाखमा जावलाखेलस्थित अल्का अस्पताल पुर्याए । डाक्टर विशेष पौडेलले जाँच गरे र बोनम्यारो रोग लागेको जानकारी दिए । त्यसपछि अभिभावकले मिङसोमालाई सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा पुर्याए । त्यहाँको डाक्टरले पनि यस प्रकारको रोग चारलाखजनामा एकलाई मात्र लाग्ने र उपचारको निम्ति रोगीकै दाजुभाई, दिदीबहिनीबाट रगत दिनुपर्ने बताएका छन् ।तर मिङसोमा एक्ली छोरी हुन् । उनको निम्ति रगत दिने व्यक्तिहरुको खोजी गर्दैछन् ।
उपचारको लागि कम्तिमा २ लाख सिंगापुर डलर लाग्ने डाक्टरले भनेका छन् । उपचार छ महिनाभित्र गर्नुपर्ने डाक्टरको प्रेस्त्रिmप्सनमा छ । पहाडको साधारण परिवारसित यत्तिका धेरै रकम नभएकोले देश, विदेशमा सहयोगको याचना गर्नुबाहेक कुनै उपाय नभएको मिङसोमाका बुवा दिलेन्द्र बताउछन् । उनी भन्छन्,'मिङसोमा मेरी एक्ली सन्तान हुन्, हामी बचाउन चाहन्छौं तर आर्थिक स्थिति कमजोर छ । त्यसैले मेरी छोरी बचाउन सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछु ।'
मिङसोमालाई सहयोग जुटाउन जावलाखेलस्थित एनआईसी बैंकमा उनकै नाममा खाता नं.२०२१५२४१४०६७२७ खोलिएको छ । सहयोगदाताले तत्काल सम्पर्कको गर्न मिङसोमाका मामा प्रेम लिम्बुलाई मोबाइल नं.९८४१२१०७९६ वा घरमा ०१५५२३२१४ मा सम्पर्क गर्न सकिनेछ ।