नेपालको दुइदिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार काठमाडौं आइपुग्दैछन्।
नेपालका राष्ट्रपति र प्रधानमन्त्री लगायतका नेताहरुले बारम्बार भारत भ्रमण गरेपनि १७ वर्षदेखि भारतबाट कोही पनि उच्च नेता नेपाल नआएको भनेर टिप्पणी हुने गरेका बेला मोदी आफु प्रधानमन्त्री भएको दुइ महिनाभित्रै नेपाल आउन लागेका हुन्।
विहान ११ बजेतिर काठमाडौं आइपुग्ने भारतीय प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला स्वयंले स्वागत गर्नेछन्।
दिउसो दुइ प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता हुनेछ।
भेटवार्ता
मोदीले राष्ट्रपति रामबरण यादवसँग सोमबार भेटवार्ता गर्नेछन् भने राष्ट्रपति निवासमा हुने दिवाभोजमा सरिक हुने कार्यतालिका सार्वजनिक भएको छ।
त्यसबाहेक उनले कांग्रेस, एमालेका नेता माओवादी अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाका नेतासँग पनि भेट गर्ने बताइएको छ।
प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि केहि दिन अघि भारतीय विदेश मन्त्री सुषमा स्वराज काठमाडौं आएकी थिइन्।
त्यसबेला जारी संयुक्त विज्ञप्तीमा मोदी भ्रमणका बेला हुनसक्ने कुनै पनि ठोस र ठूला विषयहरुको संकेत थिएन।
त्यसबेला मोदी भ्रमणका पुरा गर्ने लक्ष्य राखिएको भनिएको र लामो समयदेखि चर्चामा रहेको विद्युत व्यापार संझौता पीटीए र आयोजना विकास संझौता पीडीए दुवैबारे शनिबार भएको मन्त्रीपरिषद बैठकमा निर्णय हुन नसकेको बताइन्छ।
संबोधन
आइतबारै मोदीले नेपालको संसदमा संबोधन समेत गर्नेछन्।
कुनैबेला हिमालयमा साधना गर्न समेत पुगेका भनिएका मोदि साउने सोमबारमा पशुपतिनाथको विशेष पुजाको मौका समेत मिलाएर नेपाल आएका छन्।
तर आलोचकहरु धार्मिक प्रवृत्तिका मोदीको भ्रमण भगवान पशुपतिनाथको विशेष पुजा गर्ने उनको धार्मिक आकांक्षा पुरा गर्ने माध्यम मात्र पनि बन्न सक्ने बताउँछन्।
भारत र नेपालका स्वतन्त्रता संग्राममा लडेका नेताहरु जवाहरलाल नेहरु र बीपी कोइरालाबीचको विशेष सम्बन्धका साथ शुरु भएको आधुनिक भारत र नेपालबीचको उच्च तहको राजनीतिक सम्बन्ध विशेष गरी पछिल्लो समय भारतीय खुफिया एजेन्सी रअको हातमा पुगेको भन्दै चिन्ता व्यक्त भएका बेला भइरहेको मोदीको भ्रमणलाई दुइ देशबीचको सम्बन्ध पुन राजनीतिक तहमा फर्काउने भनेर कतिपयले टिप्पणी गर्ने गरेका छन्।