काठमाडौ, श्रावण ८ - नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीले जुनसुकै अवस्थामा निर्वाचन गराउन दलहरूलाई सुझाव दिएका छन् ।
लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण (डिउ-नेपाल) र नेसनल डेमोक्रयाटिक इन्स्टिच्युट (एनडीआई) ले सोमबार गरेको 'निर्वाचन प्रक्रियाको सबै चरणमा महिला प्रतिनिधित्वका लागि सहयोग' कार्यक्रममा राजदूत बोडीले मंसिर ४ गते हुने भनिएको निर्वाचन गराएरै छाड्न अनुरोध गरेका हुन् । निर्वाचनमा महिला उम्मेदवारको संख्या बढाउन र उनीहरूको मत सुनिश्चित गर्न पनि जोड दिए ।
'अमेरिकी सरकार नेपालमा स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचनको पक्षमा छ । राजनीतिमा महिला तथा पिछडिएका समुदायको सहभागितामा जोड दिन नेपाल सरकार तथा नागरिक समाजसँग सहकार्य गरिरहेको छ,' राजदूत बोडीले भने, 'राजनीतिक दलबीच मतभेद हुँदा निर्वाचन हुने र नहुने दुविधा भइरहेको छ । यस्तो अवस्थामा पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी चुनाव गराउने भन्यो भने त्यो सम्भव हुँदैन । बरु जस्तोसुकै अवस्थामा भए पनि निर्वाचन गराउनु महत्त्वपूर्ण हुन्छ ।'
नेपालले आफ्नो क्षमता हासिल गर्न स्थायित्व र देशको विविधतालाई सही अर्थमा प्रतिनिधित्व गर्ने राजनीतिक प्रणाली आवश्यक भएको उनले बताए । 'यसका लागि पहिलो महत्त्वपूर्ण कदम भनेको मंसिरमा स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचन सम्पन्न गर्नु हो,' उनले भने । नेपालमा लोकतन्त्र र सुशासन प्रयासलाई टेवा पुर्याउन अमेरिकी सरकारले गत वर्ष ५५ लाख अमेरिकी डलरभन्दा बढीको सहयोग उपलब्ध गराएको उनले जानकारी दिए ।
