महोत्तरी, श्रावण ८ - झूटो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने एक भारतीयसहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मुजफरपुरका राजकुमार कापर, औरही ३ का बैजनाथ कापर र पिपरा ६ का मोहन कापर छन् ।
आवश्यक कागजातसहित गौशालास्थित इलाका प्रशासन आएका उनीहरूलाई नागरिकता बनाउने समयमा प्रशासकीय अधिकृत दीपककुमार कर्णले शंका लागि सोधपुछ गर्दा बैजनाथले राजकुमार छोरा नभई छोरी ज्वाइँको भारतीय नातेदार भएको स्विकारेपछि दुवैलाई पक्राउ गरिएकेा हो । उनीहरूलाई सघाएको आरोपमा मोहनलाई समेत नियन्त्रणमा लिइएको छ । प्रहरी निरीक्षक दीपक गिरीका अनुसार तीनै जनाको बयान लिने काम भइरहेको छ । नागरिकता का लागि सिफारिस गर्ने अर्का मतियार औरही गाविसका सचिव मुसलिम बैठालाई समेत पक्राउ गर्न कारबाही अगि बढाइएको प्रशासकीय अधिकृत कर्णले जनाए । उनीहरूमाथि लागेको अभियोग प्रमाणित भएमा नागरिकता ऐन ०६३ को दफा २१ को ३ बमोजिम १ देखि ५ वर्ष कैद र २० हजारदेखि १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । गतसाता पर्सादेवाड गाविसबाट झूटो विवरण पेस गरी नागरिकता बनाउन खोज्ने भारतीय नागरिकसहित २ लाई गौशालास्थित इलाका प्रशासनले पक्राउ गरेको थियो ।