Friday, July 26

नेपाली रेस्टुरेन्टको उद्‍घाटनमा बेलायती पूर्वप्रधानमन्त्री -

londonलन्डन, श्रावण ११ - गलामा फूलको माला, शिरमा ढाका टोपी र गलामा दोसल्ला । बेलायती पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन बिहीबार भिन्न गेटअपमा देखिए । डेढ दशकयता स्कटल्यान्ड बस्दै आएका दुई गुल्मेली व्यवसायी काशीराम भण्डारी र अर्जुन भण्डारीले संयुक्त लगानीमा खोलेको रेस्टुरेन्ट उदघाटन गर्न उनी उपस्थित भएका थिए ।
लेबर पार्टी आबद्ध वरिष्ठ राजनीतिज्ञ ब्राउनले रेस्टुरेन्ट उदघाटन गरेपछि भने, 'इट्स माई ग्रेट प्लेजर इन्डिड ।' उनी विश्व शिक्षाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतसमेत हुन् । स्कटल्यान्डस्थित काउडेन्बिथ र किर्कोल्डी क्षेत्रका एमपी ब्राउन राजनीतिज्ञका रूपमा निकै व्यस्त हुन्छन् ।
आफ्ना सारा काम छाडेर उनले स्कटल्यान्डमा खोलिएको नेपाली बफेट रेस्टुरेन्ट 'सिमला प्यालेस' उदघाटन गरे । नेपाली नेताहरू प्रायः उदघाटनमा रमाउने परम्पराभन्दा ठीक विपरीत बेलायती राजनीतिज्ञ विरलै यस्ता कार्यक्रममा झुल्कने गर्छन् । ब्राउनले एक कदम अगाडि बढेर कार्यक्रममा पुग्नुको कारण नेपाली समुदायप्रति उनको उच्च लगाव थियो ।
रिवन काटेर रेस्टुरेन्टको उदघाटन गरिदिए उनले  भने 'मेरै क्षेत्रमा तपाईंहरूले व्यवसाय सुरु गरेको देखेर म खुसी छु । व्यावसायिक सफलताको शुभकामना छ ।' उनले व्यवसायीलाई सोध्न भ्याए, 'किरकेल्डीमा क्षेत्रमा चाहिँ अर्को रेस्टुरेन्ट कहिले सुरु गर्ने योजना छ ?' किरकेल्डी उनको क्षेत्रमा पर्छ ।
स्कटल्यान्डको राजधानी एडिनबराबाट ३० माइल उत्तर ग्लेनरोथेस क्षेत्रमा रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।
ब्राउन त्यहीँका बासिन्दा हुन् । १ सय ५० सिट क्षमताको नेपाली, इन्डियन खाना पाइने उक्त रेस्टुरेन्ट १ लाख पाउन्ड लगानीमा चौथो शाखाका रूपमा खुलेको हो ।  
ब्राउनका साथ उनकी धर्मपत्नी सारा, ग्लेनरोथेस एमपी लिन्जे रोयलगायत अन्य वरिष्ठ व्यक्तित्वहरू सहभागी थिए । ब्राउनले रेस्टुरेन्टमा तयार पारिएको ल्याम्ब टिक्का र पकौडाको स्वाद लिए । स्कटल्यान्डमा नेपाली रेस्टुरेन्टहरूले राम्रो व्यवसाय गरिरहेको सञ्चालक अर्जुनले जनाए ।