Thursday, August 29

नेपाली वैज्ञानिकको सफलता, उपग्रहबाटै प्रदूषण मापन

Pradusan

काठमाडौ, भाद्र १३ - अमेरिकास्थित नासा (नेसनल एरोनोटिकल एन्ड स्पेस एडमिनिस्ट्रेसन) मा वैज्ञानिकका रूपमा कार्यरत नेपाली नागरिक डा. लोकनाथ लम्सालले पहिलोपल्ट 'उपग्रहको माध्यमले पृथ्वीको सतहमा भएको प्रदूषण नाइट्रोजन डायअक्साइड (एनओटू) को मात्रा नाप्ने विधि' विकास गरेका छन् ।
यो विधि प्रयोग गरेर विश्वमा पहिलोपल्ट उनले बढी वायु प्रदूषण हुने क्षेत्रहरू अमेरिकाको न्युयोर्क, युरोपको लन्डन, चीनको बेजिङ र भारतको मुम्बईको 'जनसंख्यामा वायु प्रदूषणप्रतिको निर्भरता' नापेका छन् ।
नासाको वेबसाइटमा राखिएको 'नासाका वैज्ञानिकहरूले सहरी क्षेत्रको जनसंख्या र वायु प्रदूषणबीचको सम्बन्ध देखाए,' शीर्षकको समाचारमा लेखिएको छ, 'कसरी एउटा सहरको प्रदूषण त्यहाँको जनसंख्यामा भर पर्छ भन्ने विश्वमा आजसम्म नापिएको थिएन ।'
अमेरिकाको गि्रनवेल्ट मेरिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वैज्ञानिकका रूपमा कार्यरत डा. लम्सालले गरेको अनुसन्धानबारे वेबसाइटमा उल्लेख छ । यो अध्ययन 'इन्भाइरोमेन्ट, साइन्स एन्ड टेक्नोलजी' मा समेत प्रकाशित भएको छ । लम्सालले नासाको उपग्रहबाट पृथ्वीको सतहमा एनओटूको सघनता -कन्सन्ट्रेसन) कति छ भन्ने पत्ता लगाउने गणितीय मोडेल पनि विकास गरिरहेका छन् । भौतिक शास्त्री लम्सालको जन्मथलो तनहुँको चनपसवोरा गाउँ हो । डिजेल, कोइला, पेट्रोल आदि इन्धनजन्य पदार्थ बल्दा निस्कने प्रदूषित धूवाँको मुख्य अवयव हो- एनओटू । यो देख्न सकिने ग्यास पृथ्वीको सतहनजिक ओजोनतह निर्माणको पूर्वसूचक समेत हो । सुङ्दा पिरो हुने यसको रंग खैरो हुन्छ । नाइट्रोजन डायक्साइड विश्वकै ठूला महानगरको प्रमुख समस्या हो । यसले प्रदूषण र अम्लीय वषर्ा गराउँछ । आकाशमा बिजुली चम्कँदासमेत उत्पन्न हुन्छ । यो ग्यासले बच्चा र बूढापाकालाई चिसोयाममा श्वासप्रश्वास रोग निम्त्याउँछ ।
'यो अध्ययनमा प्रदूषण र जनघनत्वबीचको सम्बन्ध क्षेत्रका आधारमा परिवर्तित हुने पाइयो,' डा.लम्सालले टेलिफोनमा कान्तिपुरसँग भने, 'जस्तो दस लाख जनसंख्या भएको युरोपेली सहरका व्यक्तिले उत्तिकै जनसंख्या भएको एउटा भारतीय सहरको दाँजोमा ६ गुणा बढी एनओटू प्रदूषणको सामना गर्छन् ।' 'सहरीकरण बढ्दै जाँदा प्रदूषण बढ्ने भो, प्रदूषण बढ्दा त्यसको प्रभाव व्यक्तिमा आउने भयो,' उनले भने, 'योबाहेक सहरको आकार जुन दरमा बढ्छ प्रदूषण त्यही दरमा बढ्दैन, जनसंख्या १० गुणा बढे पनि प्रदूषण १० गुणा बढ्दैन करिब आधा हुन्छ ।'
सहरको आकार बढ्दै जाँदा त्यहाँ भएका प्रदूषणलाई नियन्त्रण गर्ने प्रविधि, नीतिसमेत बढ्दै जान्छ ।
एनओटूको मात्रा नासाको उपग्रह उपयोग गरेर त्यसबाट प्राप्त तथ्यांक उपयोग गरेर नापियो । उपग्रहले सम्पूर्ण विश्वमा दिनहँु एकैचोटि एनओटू प्रदूषण नाप्छ । 'मेरो अनुसन्धानबारे प्रकाशित पेपरहरूमा उपयोग गरिएका तथ्यांकलाई थुप्रै अनुसन्धान टोलीहरूले एनओटू प्रदूषणको मानव स्वास्थ्यमा प्रभाव जान्न उपयोग गरेका छन्,' डा.लम्सालले भने, 'अध्ययनमा नेपालको सहर समावेश हुन नसके पनि एनओटू प्रदूषणको नतिजा भारतकोजस्तै देखिन सक्छ ।'
उनले वायु प्रदूषणका दृष्टिले नेपालका सहरी क्षेत्रहरू युरोपेली मुलुकभन्दा धेरै राम्रो -मानव स्वास्थ्यका हिसाबले सुरक्षित) रहेको बताए । तर काठमाडौं उपत्यकामा भने प्रदूषण बढी देखिने अनुमान उनको छ । आगामी दुई वर्षपछि आउने नयाँ प्रविधिका माध्यमले काठमाडौं, पोखरा, विराटनगरजस्ता साना सहरको एनओटू प्रदूषण उपग्रहका माध्यमले नाप्न सकिने उनले जनाए । लम्सालका अनुसार युरोप, अमेरिकातिर एनओटू प्रदूषण बर्सेनि तीनदेखि चार प्रतिशतका दरले घटिरहेको छ भने चीनमा आठदेखि १० प्रतिशतका दरले बर्सेनि बढिरहेको छ । ऊर्जा उपयोगको ढाँचा र प्रतिव्यक्ति उत्सर्जनमा भारत र युरोपबीच धेरै अन्तर छ । बढी जनसंख्या भए पनि भारतका सहरहरू नाइट्रोजन अक्साइड प्रदूषणका दृष्टिले अध्ययन गरिएका अन्य क्षेत्रभन्दा सफा देखिएको छ । यो भिन्नता औद्योगिक विकास, प्रतिव्यक्ति उत्सर्जन र भूगोलप्रतिको क्षेत्रीय विभेदको प्रतिविम्ब हो । यसभन्दाअघि अनुसन्धानकर्ताहरूले जनसंख्या र संरचना, रोजगारी, नयाँ परिवर्तनबीचको सम्बन्धलाई नापेका थिए ।