पोखरा, भाद्र ७ - एमाओवादीले तमुवान क्षेत्रको पोखरामा पहिलो उत्पादन बिग्रेडको घोषणा गरेको छ ।
वाईसीयल नेता दीपक कोईरालाको नेतृत्वमा अन्नपुर्ण नाम दिएर उत्पादन बिग्रेड घोषणा गरिएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कोईरालालाई निर्माण तथा उत्पादन सामाग्री हस्तान्तरण गरेर बिग्रेडको शुक्रबार सुरुवात गरेका हुन । 'पूँजी र श्रमलाई संगठित गरौ, युवाहरुलाई रोजगारी प्रदान गरौ, उत्पादन बढाऔ, आत्मनिर्भर बनौ' भन्दै एमाओवादीले बिग्रेडको घोषणा गरेको हो ।
उक्त अवसरमा बोल्दै अध्यक्ष दाहालले हेटौडा महाधिवेशनले लिएको कार्यदिशा र कार्यनीति अनुसार उत्पादन बृद्धि तथा बिकास निर्माणका लागि बिग्रेडको सुरुवात गरिएको बताए । दाहालले बिग्रेड घोषणा सुरुवातमात्रै भएको भन्दै यसलाई देशभर बिस्तार गरिने जनाए । 'उत्पादन बिग्रेड गम्भीर रणनैतिक महत्वको बिषय भएकाले देशब्यापी अभियानमा चलाउनेछौ', दाहालले भने, 'युवालाई स्वरोजगार सृजना गर्ने तथा समाजवादी क्रान्तिको आधार तयार पारी राष्ट्रिय पूँजीको बृद्धि गर्ने ठूलो रणनीतिसाग यो सम्बन्धित छ ।'
अहिले संविधान सभाको निर्वाचनको संघारमा मुलुक होमिएकाले उत्पादन बिग्रेड उत्पादनमामात्रै सीमित नभई निर्वाचनका गतिविधिलाई पनि अघि बढाउन एकप्रकारको फ्युजनमा जानुपर्ने दाहालले जोड दिए । निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचनकालागि युवाले पहल गर्नुपर्ने र त्यसमा उत्पादन बिग्रेड पनि सहभागी हुनुपर्ने दाहालको भनाई थियो ।