Tuesday, September 10

बुद्धमोर्चा- २

केदार शर्मा

नेपाल सरकारले एकसय रुपैयाँको नोटमा गौतमबुद्ध नेपालमा जन्मेका हुन् भनेर लेख्ने निर्णय गरेको छ। भगवान बुद्धको जीवन, दर्शन, आदर्श, त्याग आदिका कुरा उठाएर यहाँ म यो महान् निर्णयको विरोध गर्ने छैन। गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्ने सरकारको पवित्र उद्देश्यलाई बल पुगोस् भनेर म केही थप कदमहरू सिफारिश गर्न लागेको छु। जस्तो, रु.५ को नोटमा उपरान्त योभन्दा सानो नोट छापिदैन, खोज्ने कष्ट नगर्नुहोला भनेर लेख्ने। यसैगरी, रु.१० को नोटमा नेपाल दुई ढुङ्गा बीचको तरुल हो र रु.२० को नोटमा पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं लेख्ने।
त्यस्तै, रु.५० र रु.५०० को नोटमा क्रमशः पैसा पढौं बुद्धि बढाऊँ र पर्यटक हाम्रा पाहुना हुन्, उनीहरूबाट योभन्दा साना नोट नलियौं भनेर लेख्ने। रु.१००० को नोटमा सगरमाथा नेपालमा पर्छ भनेर लेखौं। नोटमा यसरी सन्देश छाप्ने अत्यन्त क्रिएटिभ आइडिया हो भन्नेमा कुनै विवाद छैन, काइदा लुरे भयो कि भन्ने मात्र हो। किनभने नेपाली नोट चलाउने हामी मात्र हौं। यस्तो कुरा बताएर आरिसले भुतुक्क पार्नुपर्ने भारतीयहरूलाई हो, तर त्यहाँका कालो बजारिया बाहेक अरूले नेपाली नोट देख्दैनन् र कालो बजारियाले नोट पढेर बुद्धि बढाउने दुःख गरिरहँदैनन्। गौतमबुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुराको जानकारी पाउनुपर्ने तेस्रो देशका नागरिकहरूको पनि नेपाली नोटमा पहुँच छैन। त्यसैले माओवादी सरकारलाई मेरा पाँच सुझाव छन्:
१. लुम्बिनी भ्रमण वर्ष २०१२ र गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्ने नै उद्देश्य हो भने त्यसका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यान तान्नु पर्छ। बाबुराम भट्टराई र पुष्पकमल दाहालले भगवान बुद्धलाई साक्षी राखेर आफ्नो नेतृत्वमा भएको हत्या-हिंसाप्रति सार्वजनिक पश्चात्ताप गर्ने र हिंसामुक्त राजनीतिको बाटो अङ्गीकार गरेको घोषणा गर्ने हो भने त्यो घोषणासभा कभर गर्न मात्र पनि विश्वभरका सञ्चारमाध्यम नेपालमा ओइरिन्छन्। त्यसबाट लुम्बिनी भ्रमण वर्ष २०१२ र गौतमबुद्धको जन्मस्थल दुवै कुरा संसारभर निःशुल्क प्रचारप्रसार हुन्छ। आँट गर्ने हो कमरेडहरू?
२. मुलुकको चमत्कारपूर्ण आर्थिक विकास गरेर नेपाली ब्याङ्क नोटलाई विश्वभर चल्ने परिवर्त्य मुद्राको हैसियत दिलाउन प्रयास गर्ने। त्यसको पूर्वाधारका रूपमा मुलुकमा आफूले चलाएको हड्तालीकरण र बन्दीकरण अन्त्य गर्ने।
३. नयाँ संविधानमा मुलुकको नाममा नै बुद्ध घुसाउने। ब्रुनाइले आफ्नो औपचारिक नाममा शान्तिको घर राख्नुहुन्छ भने हामीले विद्यमान नाममा ब्रुनाइको भन्दा एक शब्द बढी थपेर संघीय गणतन्त्र बुद्धजन्मभूमि नेपाल भनेर नयाँ नेपाल किन नबनाउने? यस कुराको कसैले विरोध गर्दैन भन्ने कुरा बुद्धका नाममा जे गर्दा पनि कोही केही नबोलेबाट स्पष्ट भइसकेकै छ।
४. नेपाली पासपोर्टमा नै स्पष्ट शब्दमा बुद्ध नेपालमै जन्मेको खुलाउने जसले गर्दा संसारभरका अध्यागमन कर्मचारी, प्रहरी, तिनका मित्रमण्डली र तिनका सन्तान दरसन्तानको मन मस्तिष्कमा यो महाज्ञानले स्थायी बास पाउन सकोस्।
५. नेपाली नोट भारतमा नचल्ने र नेपालीलाई त्यहाँ पासपोर्ट पनि नचाहिने भएकाले यी उपायहरू भारतका लागि प्रभावकारी नहुने निश्चित छ। त्यसैले प्रत्येक भारतीयलाई प्रवेश बिन्दुमा नै १० पटक गौतमबुद्ध का जन्म नेपाल मे हुवा है लेख्न लगाएर मात्र नेपाल पस्न बस्न दिने। नेपालका क्यासिनोमा प्रवेश गर्ने भारतीयहरूलाई यो नियम थप १०० पटक लगाउन सकिन्छ।
कुनै दिन कुनै बौलाहा सरकारले शान्ति सेनामा जाने सैनिक र प्रहरीहरूलाई पनि बुद्ध सेना भनेर नामकरण गर्न सक्छ। त्यसका लागि म अहिलेदेखि नै मानसिक तयारी गर्दैछु।