काठमाडौं, चैत्र १७ - अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान तत्काल अनुमोदन माग गर्दै मानवअधिकारवादी कृष्ण पहाडी सोमवारदेखि आमरण अनसनमा बस्दैछन् ।
पहाडीले सोमवार ९ बजेदेखि रत्नपार्क शान्तिबाटिकामा अनसन बस्ने भएका हुन् । रोमविधान अनुमोदन २०६२/६३ को आन्दोलनको एजेण्डा भन्दै आन्दोलनपछि पुनस्थापित संसदले निर्देशन दिए पनि कार्यान्वयन नभएको उनले बताए ।
'युद्ध अपराध, मानवताविरुद्धको अपराध र आमसंहारमा संलग्नहरुलाई राष्ट्रियस्तरमा कारवाही नभएमा वा गर्न नचाहेमा अन्तराष्ट्रिय फौजदारी अदालतले कारवाही गर्न सक्छ' पहाडीले कान्तिपुरसित भने, 'तत्कालिन संसद्ले बनाएको कार्यदलले निर्देशन दिए पनि सुझाव कार्यान्वयनमा ध्यान दिएको छैन ।'
मानव अधिकार तथा शान्ति समाजको सत्याग्रहमा पहाडी आमरण अनसन बस्न लागेका हुन् भने अरु अधिकारकर्मी अनशन बस्नेछन् ।
स्मरणीय छ, अत्यन्त साधारण जीवन बिताउने २०६२-६३ को जनआन्दोलनमा सक्रिय भूमिका निभाएका पहाडीको नाम आन्दोलनको उपलब्धिपछि बिरलै सुन्न पहिएको थियो l मिडियामा खासै छाउन नचाहने पहाडी मानव नेपालको मानव अधिकार सम्रक्षण क्षेत्रमा चर्चित नाम हो l