काठमाडौं, चैत्र १७ - विश्वकप खेलेर फर्केको साता नबित्दै राष्ट्रिय क्रिकेटरहरूले अब सामान्य जागिरको चिन्ता लिनुनपर्ने भएको छ । प्रशिक्षक पुबुदु दसानायकेको प्रस्तावअनुसार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) उनीहरूलाई मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिन तयार भएको छ ।
प्रशिक्षक पुबुदुले बुधबार पारिवारिक बिदामा क्यानडा जानुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुरेलसमक्ष खेलाडीलाई नियमित तलब दिनुपर्नेलगायत क्रिकेट विकासका दुईवर्षे कार्यक्रम प्रस्ताव गरेका थिए । 'त्यही प्रस्तावअनुसार खेलाडीलाई क्षमताअनुसार तीन समूहमा वर्गीकरण गरेर मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिनेछौं,' आङबुहाङले भने, 'यति तलब भएपछि राम्रा खेलाडीले जागिरको चिन्ता लिनुपर्दैन ।'
पुबुदुले उत्कृष्ट ७ खेलाडीलाई 'ए', त्यसपछि अब्बल ७ लाई 'बी' र अन्य ४ खेलाडीलाई 'सी' मा समावेश गर्दै 'सेन्ट्रल कन्ट्रयाक' मा राख्न प्रस्ताव गरेका छन् । प्रस्तावअनुसार 'ए' मा पर्ने प्रत्येक खेलाडीलाई मासिक ४० हजार, 'बी' लाई ३० हजार र 'सी' लाई २० हजार रुपैयाँ तलब दिनुपर्छ । 'संसारमा देशको गौरव बढाउने खेलाडीलाई यति तलब धेरै ठूलो कुरा होइन । प्रायोजक खोजेर वा जसरी हुन्छ, हामी उपलब्ध गराउनेछौं,' आङबुहाङले भने ।
