Saturday, May 3

एसीसी प्रिमियर लिगमा नेपालको दोश्रो जित

NFN सम्बाददाता, एडेलेड


काठमाडौं, वैशाख १९ - एसीसी प्रिमियर लिगको दोस्रो खेलमा शुक्रबार रोमाञ्चक जित हात पारेपछि नेपालको शीर्ष चारमा रहेर एसीसी च्याम्पियनसिपका लागि छनोट हुने सम्भावना बलियो बनेको छ । टु-डेको प्रतियोगिता एसीसी च्याम्पियनसिप डिसेम्बरमा यूएईमा हुनेछ ।
पहिलो खेलमा बिहीबार वान-डे मान्यता प्राप्त यूएईमाथि चार विकेटको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा मलेसियालाई ५ विकेटले हराएको हो । न्युजिल्यान्डमा भएको वान-डे विश्वकप छनोटमा खराब प्रदर्शनपछि नेपालले ५० ओभरको खेलमा सानदार सुरुआत लिएको हो ।  सोमपाल कामीले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै शुक्रबार महत्त्वपूर्ण पाँच विकेट लिएपछि नेपालले एसीसी प्रिमियर लिगको आपmनो दोस्रो खेलमा आयोजक मलेसियालाई पराजित गरेको हो ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसोसिएटसतर्फका शीर्ष पाँच र ओमानलाई समावेश गरेर प्रतियोगिता गरेको हो ।
नेपालसँगै अफगानिस्तान र ओमानले पनि आफ्ना दुवै खेलमा जित हासिल गरेका छन् । मलेसिया र वान-डे मान्यता पाएका यूएई र हङकङले कुनै खेलमा पनि सफलता पाएका छैनन् । नेपाली टिमका लागि यो प्रतियोगिता एसियाली टेस्ट नखेल्ने राष्ट्रबीच आफ्नो वर्चस्व कायम गर्ने अवसरका रूपमा रहेको छ । न्युजिल्यान्डमा भएको छनोट प्रतियोगितामा नेपाल नवौं स्थानमा रहेको थियो । प्रतियोगितामा सहभागीमध्ये अफगानिस्तान, यूएई र हङकङलाई वान-डे टिमको मान्यता
छ । अफगानिस्तानले पेप्सी आईसीसी विश्व क्रिकेट लिगमा वान-डे मान्यता पाएको हो । उसले सन् २००९ देखि वान-डे खेलिरहेको छ भने सन् १९९६ मा विश्वकप खेलेको यूएईले न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा दोस्रो स्थानमा रहँदै तथा हङकङले तेस्रोमा रहँदै वान-डे मान्यता पाएका हुन् ।
अफगानिस्तान र यूएईले सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने आईसीसी वान-डे विश्वकपमा पनि स्थान पक्का गरिसकेका छन् । त्यसैले विश्वकपको तयारीमा रहेका राष्ट्रविरुद्धको सफलताले नेपाली खेलाडीको मनोबल उच्च पार्ने छ । बंगलादेशमा सम्पन्न आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपमा राम्रो प्रदर्शन गरेको नेपाल त्यसयता वान-डेमा पनि राम्रो लयमा देखिएको छ ।
यसअघि सन् १९९६ देखि २००६ सम्म एसीसी ट्रफीमात्र आयोजना हुँदै आएकामा त्यसयता एसीसी ट्रफी एलिट र च्यालेन्ज दुई प्रतियोगिता हुँदै आएको थियो । तर पछिल्लो १० वर्षमा आफ्ना सदस्य राष्ट्रबीचको प्रदर्शनमा अन्तर देखिएकाले एसीसीले
तीन फरक स्तरको प्रतियोगिता थालेको हो ।
मलेसियाविरुद्ध अपराजितको क्रम कायम राख्न सोमपाल कामी र महबुब आलमले निणर्ायक भूमिका खेले । करिब तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका महबुबले एक विकेट लिँदै महत्त्वपूर्ण ५३ रन जोडेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा अलआउट हुँदै १ सय ४९ रन बनायो । सोमपालको धारिलो बलिङ अगाडि मलेसियाली ब्याट्सम्यान टिक्न सकेनन् । नेपालले ३७ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै १ सय ५० रन जोड्यो । दुवैले पहिलो खेलमा पनि समान तीन/तीन विकेट लिएका थिए ।
महबुबले ३६-४ को स्थितिबाट टिमलाई उकासेका थिए । उनले शरद भेषवाकरसँग पाँचौं विकेटका रूपमा ८९ रनको साझेदारी गरे । नेपाली प्रशिक्षक पुबुदु दसानायकेले नेपाली टिमले राम्रो गरिरहेको र सबै पक्षमा सुधार गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले यस्तै नतिजालाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् ।
(Source:ekantipur)