Saturday, July 19

सभासदको अनुशासन !

NFN संबाददाता

काठमाडौ, श्रावण ३ - सांसदहरूले नै संसदीय प्रक्रिया नबुझेपछि सदनमा असंसदीय भाषा र घोचपेच बढेको छ । सभामुख सुवास नेम्वाङले शुक्रबार पनि संसदीय प्रक्रिया ख्याल गर्न सांसदहरूलाई सम्झाउनु पर्‍यो । शून्य समयमा समेत अन्य सांसदले बोल्न हात उठाउन थालेपछि नेम्वाङले यस्तो ध्यानाकर्षण गराउनुपरेको हो ।
शून्य समयमा पालो पाएकाबाहेक अन्य सांसदले नियमापत्तिबाहेक अर्को विषयमा बोल्न पाउँदैनन् । दलीय आधारमा निर्धारण हुने विशेष समय सबैले नपाउने भएकाले संसद्को मुख्य कार्यसूचीमा प्रवेश गर्नुअघि सांसदहरूलाई एक मिनेटको शून्य समय दिने अभ्यास छ । त्यसो त शून्य समयको सदुपयोग गर्ने सांसदको संख्या न्यून छ ।
अधिकांशले भूमिकामै एक मिनेटको समय सकेर मुख्य विषयमा प्रवेशै गर्दैनन् भने सभामुखले नाम बोलाउँदा अनुपस्थित हुनेको संख्या ठूलो हुन्छ ।
नेम्वाङले सांसदहरूलाई आफ्नो भनाइ सभामुखमार्फत राख्न, सभामुखको कुर्सीतर्फ फर्केर बोल्न, बोलिरहेको सांसदको अगाडिबाट बाटो नकाट्न, सभामुखको कुर्सीतर्फ पीठ फर्काएर नउभिन, आपसमा कुराकानी नगर्न बारम्बार सम्झाउने गरेका छन् । तर अनुभवी सांसदसमेत यी सामान्य संसदीय मर्यादा पालनामा चुक्ने गरेका छन् । बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफलका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री रामशरण महततर्फ फर्केर सवाल जवाफ गरेपछि नेम्वाङले सम्झाउनुपरेको थियो । थापा राष्ट्रिय पञ्चायतबाटै खारिएका सांसद हुन् ।
सदनमा सत्ता पक्ष नै प्रतिपक्षको भूमिका प्रस्तुत हुँदा भने सभामुख नै रणभुल्लमा पर्ने गर्छन् । बजेटमाथिको सैद्धान्तिक छलफलमा कांग्रेस सांसद अमरेशकुमार सिंहले अर्थमन्त्री रामशरण महतलाई मधेसी विरोधीको बिल्ला मात्र भिराएनन् 'सामन्ती' आरोप लगाए । प्रत्युत्तरमा महतले त्यसको प्रतिवाद गर्दै आफ्नो र सिंहको पारिवारिक पृष्ठभूमि तुलना गर्न चुनौती दिए । महतको जवाफमा चित्त दुखाएका सिंहको पनि गुनासो गर्ने ठाउँ नेम्वाङकै चेम्बर थियो । संसदीय अभ्यासमा सरकार र मन्त्रीको आलोचना प्रतिपक्षले गर्छ, सत्तापक्षका सांसदले आफूलाई चित्त नबुझेको विषय राख्ने ठाउँ संसदीय दल हो ।
सत्तापक्षकै सांसदले अर्थमन्त्रीलाई सामन्ती भन्नु आफैंमा असंसदीय भाषा थियो । तर त्यसमा अर्को कुनै सभासदले नियमापत्ति गर्ने भेउ पाएनन् । 'संसदीय मर्यादा र प्रक्रिया विपरीतका काम र शब्दावलीमा मात्र होइन, सरकारले गरेका कामकारबाहीका विषयमा नियमापत्ति गरी नयाँ मुद्दा उठाउन सकिन्छ,' एमालेका पूर्वसांसद विरोध खतिवडा भन्छन्- 'तर नियमापत्तिका लागि नियमको दफा उल्लेख गर्नुपर्ने भएकाले नियमावली र विषयवस्तु दुवैको राम्रो हेक्का हुनुपर्छ ।'
नियमले गर्न नमिल्ने प्रक्रिया र बोल्न नहुने शब्दावली प्रयोग गर्दा नियमापत्ति गरिहाल्ने अनुभवी सांसदको अभाव खड्किएको छ । सरकारका मन्त्री वा अर्को सांसदले गरेका काम र प्रयुक्त शब्दावली नियमविपरीत भएमा अर्को सांसदले तत्काल उठेर नियमापत्ति गर्न सक्छ । नियमापत्ति गर्न उभिएको सांसदलाई सभामुखले कुन नियमलाई समातेर के विषयमा आपत्ति जनाएको भन्ने जिज्ञासा राख्ने गर्छन्- 'के भो माननीय सदस्य ?' त्यतिबेला ठीक नियम समात्न नसके नियमापत्ति गर्ने नै थचक्क हुनुपर्छ, सभामुखले समय दिंदैनन् ।
अभ्यासमा खारिएकाहरू सत्ता पक्ष भएको र 'क्रान्तिकारी' प्रतिपक्षले बुर्जुवा संसदीय परिपाटीको अध्ययन आवश्यक नठानेकाले संसद्मा नियमापत्तिको अभ्यास कमजोर भएको खतिवडाको विश्लेषण छ ।
सभासदको उपस्थिति पातलिएपछि खाली देखिएको संविधानसभा ।