Wednesday, July 30

लिबियाको आगो निभाउन इटालिले सहयोग गर्ने

त्रिपोली (बीबीसी), श्रावण १४ - लिबियाको राजधानी त्रिपोलीस्थित सबभन्दा ठूलो इन्धन डिपोबाट उठिरहेको आगोको मुस्लोलाई निभाउन इटालीले मद्दत गर्ने भएको छ। त्यहाँको दुई टंयाक आगोको चपेटामा परेका छन्। उसले विशेषज्ञ टोलीसहित विमान पठाउने लिबिया सरकारले जनाएको छ। लिबियाका अधिकारीले यसलाई अनियन्त्रित अवस्था भन्दै आगो सुरु गर्नमा झडपमा व्यस्त दुई प्रतिद्वन्द्वी विद्रोही समूह जिम्मेवार रहेको आरोप लगाएका छन्।
हिंसा अझ चर्कने त्रासमा राजधानीबासीहरू घर बाहिर निस्किरहेका छैनन्। त्यहाँस्थित बीबीसी संवाददाता राना जावादको अनुसार स्थानीय निकै गम्भीर छन्। हिंसाले गर्दा सहर गलिसकेको देखिन्छ। लडाकुहरूको गैरजिम्मेवार व्यवहार र सम्भावित विशाल क्षतिप्रति बेवास्ताले नागरिकमा रिस, त्रास र अविश्वास उत्पन्न भएको जावादले भनेकी छन्।
त्रिपोली विमानस्थललाई नियन्त्रणमा लिन गत सातादेखि लडाकु समूहबीच जारी द्वन्द्वमा कम्तीमा ९७ को मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय विमानस्थल मार्गस्थित उक्त डिपो त्रिपोलीदेखि १० किमि टाढा छ। जथाभावी प्रहार गरिने रकेटबाट प्रभावित विमनस्थल मार्ग र अन्य क्षेत्रका बासिन्दा घर छाडिसकेका छन्। प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई लडाइँ बन्द गरी यथाशीघ्र चाँडो आगो नियन्त्रण गर्ने कार्यका लागि विज्ञ र विमानलाई प्रवेश दिन आग्रह गरेको छ। इटाली सरकार र उसको तेल कम्पनी ईएनआईले आगो मत्थर पार्न सहयोग गर्ने विज्ञप्तिमा भनिएको छ। लिबियाको नेसनल आयल कम्पनी (एनओसी) का प्रवक्ता मोहम्मद अल हाराईका अनुसार पहिलो टंयाकमा आगो लाग्नेबित्तिकै अग्नि नियन्त्रकले लगभग निभाइसकेका थिए। तर उक्त क्षेत्रमा पुनः युद्ध सुरु भएपछि उनीहरू र्फकन बाध्य हुनुपर्‍यो। दोस्रो टंयाकमा छर्रा लाग्दा आगलागी सुरु भएको थियो। ब्रेगा ओयल एन्ड ग्यास कम्पनी आबद्ध उक्त तेल भण्डारण थलोबाट सहरलाई चाहिने इन्धनको मुख्य भागको आपूर्ति हुन्छ। सन् २०११ को आन्दोलनदेखि जन्मिएका विभिन्न लडाकु समूहलाई सरकारले हतियारविहीन बनाउन नसक्दा मुलुक संकट ग्रस्त बनेको छ। यसले गर्दा थुप्रै पश्चिमा सरकारले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई त्रिपोली छाड्ने सल्लाह दिएको छ।