Thursday, July 31

प्रवाशिको विश्लेषण : नेपालको विकास कसरी सम्भव छ ?

मिलन दाहाल 

                   देश बिकाश र जनताको नाम लिएर आज धेरै मान्छेहरु राजनितीलाई पेशा बनाएर आफ्नो जीवन स्तरलाई उच्च बनाउन सफल भएका छन् । त्यहि देखेर त्यसैको सिको गरिरहेकाहरु  प्रतिभाहीन  मान्छेहरुको पनि कमि छैन नेपालमा । एउटा मेहेनती बिद्यार्थी राम्रो संग पढ्छ, उच्च अंक ल्याई  एउटा व्यावसायिक शिक्षा हासिल गरेर आफ्नो व्यवसाय सुरु गर्छ, अनि उ सगै स्कुल जाने, कक्षामा कहिल्यै नबस्ने, गृहकार्य नगर्ने, केहि नजानेको मान्छे इटा, ढुंगा, चाकडी आदि सिढीहरु  चढेर नितीनिर्माण तहमा पुग्छ । त्यसपछि देशमा पुंग न् पुच्छरका नितीहरु बन्न थाल्छन, र एउटा विद्वानलाई मुर्खको पथमा हिड्ने पर्ने  अवस्था सिर्जना हुन्छ र सुरु हुन्छ दक्ष जनशक्ती पलायनको क्रम । यसरी दक्ष जनशक्ती वाट सुरु भएर पुरा युवा पुस्ता र अन्तत: सम्पूर्ण पुरुषहरु समाजवाट पलायन हुन्छन अनि बाकी रहन्छन महिला, बृद्द-ब्रिद्दा अनि वाल-वालिका ।
 त्यसपछि त शासन कत्ति सजिलो ! न कतैवाट बिरोधका अवाज न् अशन्तुष्टी गुञ्जाइस नै । मस्ती त विद्वान साथ्-साथै युवा पलायन गराउनुमा नै पो रहेछ, अनि युवा पलायन गराउनेखाले नितीहरु भट्टा-भट बन्न थाल्छन । एक त मनपरी शासन गर्न पाइने भयो दोश्रो देश धानिने भयो रेमिट्यान्सले, कती मज्जा । यो कुनै रोमान्चक कथा हैन, हाम्रो यथार्थ हो । आज देशमा भएका अधिकांश युवाको अवको बाटो के हो भनेर कसैले सोध्छ भने सामुहिक उत्तर आउनेछ "विदेश", मानौ विदेश एउटा सहज भुमि हो भबिष्य फलाउने । नेपालमा भएका युवाहरुको बुझाई हो यो । विदेशको भूमीमा पाइला टेकिसकेकाले बुझ्न थाल्नेछन, आहो! यो त हाम्रो भुमि हैन रहेछ, विदेशको धरातलको यथार्थ त कल्पना भन्दा एकदम अलग्ग हुने रहेछ । बिदेशमा रोपिने अविलाषा बोकेर झोला-झ्याम्टा च्यापेर उडेका नेपालीलाइ अवतरण भएको एक महिनामा अव देश नफर्किने होला नि भनेर सोध्यो भने एउतै उत्त्तर आउन थाल्छ, अबुई यहाँ कहाँ बस्न सक्नु दुइ-चार बर्ष बसेर अलि-अलि कामाएर  फर्किने हो आफ्नै देश । बिदेशी भूमिमा टेकिसक्दा उसले बुझिसकेको हुन्छ कत्ति भित्रसम्म गढ़िसकेको छ हामीमा नेपालीत्व । मरेपनि हामीलाई हाम्रो माटोवाट कसैले अलग्ग बनाउन सक्नेछैन । फेरिपनि, यदि कसैमा बिदेशी भूमिमै रमाउने अलिकती रहर बाँकि रह्यो भने छोरा-छोरीको बढ्ने क्रमसंगै एक प्रकारको भय बढेर जान्छ, आफु त दोस्रो दर्जाको भएर जिन्दगी बिताइयो मेरो सन्तानलाई त्यहि  अवस्थामा छोडेर  म मरेभने मेरो आत्माले शान्ती पाउला ? अह, कदापी पाउन सक्दैन । मैले मेरो संतान्वाट नेपाली भएर बाच्ने अधिकार खोश्ना हुन्न । त्यसपछि प्रयासहरु सुरु हुन्छन सन्ततीमा नेपालीत्वको रक्षा गर्ने ।संघ-संगठन, कला-कार्यक्रम । उफ! अनि सुरु हुन्छ त्यहीनेर राजनिती, गुटबन्दी  अनि फुटहरु । हरे हामी नेपालीहरु ! वास्तवमा केहि छैन हामीसंग लडाई र युद्का  इतिहास बाहेक गैरिरिएर सोच्ने हो भने, एकजुट भएर प्रगतीपथमा लम्कनुपर्ने यस घडीमा बिदेशमा धरी एक-आपसमा लडेको देख्दा धेरैपटक एकान्तमा रोएको छु म ।

                     प्रवासको  बसाइ सहज छैन, नया ठाउँ, नया मान्छेहरु, नया निती-नियम, नया संस्कृती र बाच्नै अझ भनौ खुसीसाथ बाच्नै पर्ने बाध्यता । कत्ती अवस्थाहरुमा मुटुमाथि ढुंगा राखी नेपालमा भएका अफ़न्तहरुका लागि हासिदिनुपर्ने हुन्छ, कैले कुरा काट्नेहरुलाई ठाउँ नदिन असहजतामा सहजता भएको ढोंग गर्न पर्छ । आफ्नो आवस्यकताहरु थाती राखेर अरुका आकान्क्षाहरु पुरा गर्नु पर्छ । नेपालमा विभिन्न कार्यगर्ने  परियोजना पुरा गर्न सहयोग माग्दै आउछन उनीहरुलाई सहयोगपनि गर्ने पर्छ । त्यसमाथी, कुनै सानु असहजतामा नेपाल नराम्रो भनेर विदेश गएको हैनस, भेटिस भन्दै खुचिङ्ग मच्चाउन एउटा समूह सदैव तम्तयार रहिरहेको हुन्छ, तिमीहरुको पनि हासेर सामना गर्नु पर्छ ।  साच्चै, सजिलो छैन प्रवाशी जीवन ।

                        प्रवासको जिन्दगीको राम्रो पक्ष के छ भने आफ्नो कमाइ  बाच्नु ।  जिन्दगीको सवैभन्दा ठुलो यस उपलब्धि वाट स्वदेशमा हामी नेपालीहरु सदैव टाढा रहन्छौ । अवसरको कमीले गर्दा भनौ अथवा बा-आमाको प्रेमले भनौ, जे भएपनि प्राय हामीलाइ  यो अवसरवाट वन्चित गराइरहेको हुन्छ तर प्रवासमा हामी स्वाबलम्बी जीवन बिताउन सक्छौ । दोश्रो कुरा, स्वदेशमा बसेर कहिल्यै अनुभूत गर्न नपाएको माटोप्रतिको प्रेम अनुभव गर्न सक्छौ । तेस्रो, आफ्नो भाषी र समुदायको महत्व राम्ररी जान्ने मौका पाउछौ । र सबै भन्दा ठुलो कुरा परिश्रम र मिहिनेत गर्न सिक्छौ, जुन हामी नेपालीहरुको लागि अपरिहार्य कुरा हो ।

                         देश बिकाशको बहस आजको नेपालको सबै  भन्दा सान्दर्भिक बहस हो । "आर्थिक क्रान्ती" भन्ने शब्द निक्कै संदर्विक भएको छ आजकल । वास्तवमा के हो त यो आर्थिक क्रान्ती भनेको ?
रोबोर्ट एल हेल्ब्रोनेरले "The Making of Economic Society" भन्ने पुस्तकमा समाजको आर्थिक पद्दतीमा द्रुत गतीमा हुने परिवर्तनलाई नै आर्थिक क्रान्ती भनेर ब्याख्या गरेका छन्। उदाहारण लागि क्यास्ट्रो प्रधानमन्त्री भएपछी क्युवा को सम्पूर्ण उद्योगहरुलाई राष्ट्रियकरण गरे, र क्युवाको अर्थतन्त्र खुला बजार अर्थतन्त्र वाट राज्य संचालित अर्थ-तन्त्र बन्न पुग्यो ।क्रन्तीपुर्व क्युबाको अर्थतन्त्र एक वालीमा आश्रीत थियो जसको बजार एकदमै सानो थियो । जनसंख्या परापुर्वकाल देखिको बेरोजगारीले अत्यन्त गरीव थियो । अमेरिकाको मोनोपोलीले क्युवाको राम्रो भूभागको २५% हिस्सा ओगटेको थियो र ८०% भन्दा बढी कृषियोग्य भुमि उखु र घासले भरिएको थियो । ९०% भन्दा ज्यादा उखु र सुर्ती अमेरिका पठाईन्थ्यो, केटाकेटी बिद्यालय जादैन थे । अचानक परिस्थितीले उल्टो रुप लियो, क्युवा एकाएक बिकषित भएर गयो ।

नेपालको सन्दर्भमा कसरी सम्भव छ आर्थिक उचाइ?

                              हरेक देशको आफ्नै विशिष्ट बिषेशता हुन्छ । अमेरिकाको पद्दतिले चिनलाइ काम नगर्न सक्छ त्यसतै भारतमा उपयुक्त देखिएको पद्दति सयुक्त अधिराज्यका लागी हितकारी नहुन सक्छ । हरेक देशमा पृथक अवशर र चुनाैती हुनेभएकाले कुन सिद्दान्त प्रयोग गर्ने भन्दापनि कुन अवशरलाइ कसरी प्रयोग गर्ने र आउनसक्ने कस्ता समस्याको समाधान कसरी खोज्ने भन्ने कुरा अहम मानिन्छन । नेपालको सन्दर्भमा अवशर र चुनाैतीलाई यसरी हेर्न सकिन्छ

१. जलबिधुत-
                     नेपालको बिकाशको आधार भनेको जलबिधुत र यातायात नै हो, अनि पर्यटन । त्यसपछि अपरिहार्य कुरा भनेका शिक्षा र मानव संसाधन हुन् । स्वास्थ अहिले आत्तिहाल्नपर्ने अवस्था छैन् ।
                      जलबिधुत नेपालको बिकासको आधार त हो तर यसो भन्दैमा जलबिधुतका लागि जो पायो त्याहिसँग जे पायो त्यही सम्झाैता गर्ने भन्ने अर्थ किमार्थ हैन् । बिधुत मात्र अपरीहार्य हैन्, आम नेपालीको पहुंच हुने बिधुत नेपालको आजको आवश्यकता हो । अहिले हतारमा जे पायो उही निर्णय गरिए फुर्सदमा पछुताउनु बाहेक हामीसँग केही बाँकि रहने छैन । कुनैबेलाका हतारका निर्णयहरु जस्तै कोशी, गण्डकी आदि सम्झाैताहरु हाम्रासामु नै छन्, जस्ले लाखाैँ नेपाली दाजु-भाइहरु आज रोहिरहेछन । नेपालका दुइ छिमेकी राष्ट्रहरु भारत र चीन दुबै विश्वका उदयीमान राष्ट्रहरु हुन्, उनिहरुसँगको सहकार्यबिना अव बिकाश अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका विश्वका बिकसित मुलुकहरुले सम्भव देखेका छैनन् भने नेपालजस्तो अतिकम विकसित मुलुकले त्यो सपना देख्नु कम्युनिष्टको भाषाको "दिवाश्वप्न" भन्दा ज्यादा केही हुनेछैन । भारतसँगको सहकार्यको अर्थ भारतसँग घँडा टेकेर जे उस्ले भन्छ त्यो मानेर उसको दासत्व स्विकार्ने भन्ने किमार्थ होइन् । बिगतमा भारतले नेपालमाथि धेरै नै थिचोमिचो गरेको इतिहास छ, तर त्यसमा सम्पुर्ण रुपमा भारतमात्र दोषी छैन, हामी आफैले छानेका प्रतिनिधीले हामीलाइ धोका दिएर सत्तामोहले भारतसँग त्यस्ता सम्झाैतामा हस्ताक्षर गरेर नेपाललाइ तल पार्ने काम गरेका छन् । अबका दिनमा हामीले भारतसँग भिख माग्ने हैसियतमा जाने हैन कि एक असल राष्ट्रका रुपमा सम्झाैता गर्न सक्ने हैसियतमा जानुपर्छ । नेपालका राष्ट्रपतिले भारतका राष्ट्रपातिसामु शिर झुकाउन कुनै जरुरी छैन, राष्ट्रप्रमुख भएकाले दुबैको हैसियत बराबर हो । भुगोलको हिसाबले भारत ठुलो होला, तर दुबै सार्वभाैमसत्ता सम्पन्न मुलुक हुन्, भुपरीवेष्ठित भएको कारणले नेपालले धेरै कुरामा भारतको सहयोग लिनपर्ने कुरा आफ्नै ठाउँमा छन् तर छिमेकिका हैसियतले नेपालसँगको सहकार्यबिना भारत एक्लै अगाडि बढ्न मुस्किल छ र नेपालको मुख्य बार्गेनिङक्षेत्र त्यहि नै हो जुन निकै बलियो ठाउँ पनि हो । नेपालको प्रमुख चुनाैती भनेकै अहिलेको अवस्थामा बार्गेनिङ क्षमताको बिकाश हो ।

२. पर्यटन-
                      आज मानिसको ठाऊँसम्बन्धिको जिज्ञासालाइ व्यावसाय बनाएर धेरै देशले आर्थीक उन्नतीको चरम चुम्न सफल भएका छन् । श्विजरल्याण्ड, थाइल्याण्ड, सिंगापुर आदि यसका ज्वलन्त नमुना हुन् । नेपालको जस्तै भु-बनोट भएको श्विजरल्याण्डलाई त विश्वभर आज पर्यटनको नमुनाकै रुपमा हेरिन्छ । प्राकृतिक उपहार भन्दा ज्यादा सर्वप्रथम त्यहाँ यातायात र बिधुतको बिकाश भयो र बाँकी हुदै गयो । यसरी हेर्ने हो भने श्विजरल्याण्ड भन्दा नेपाल धेरै धनि छ, विश्वको शिखर सगरमाथा लगायत सर्वोत्कृष्ट १० मध्ये ९ हिमश्रिखलाहरु, शान्तिका अग्रदुत भगवान गाैतम बुद्दको जन्मभुमी, अपार नदिनालाहरु आदिमा श्विजरल्याण्ड भन्दापनि नेपाल धेरै अगाडि छ । तसर्थ, नेपालको पर्यटन अर्को अपार सम्भावना बोकेको क्षेत्र हो । तर, यातायात र बिधुतको पर्याप्तता प्रारम्भिक आवश्यकता हुन् । यातायात र बिधुतको पर्याप्तताबिना पर्यटनका लागि गरिने प्रयासहरुले खासै अर्थ राख्दैन किनभने त्यसले खासै राम्रो सन्देस विदेसमा लैजादैन । किनकि बिदेशीहरु भरपर्दो यातायात, बिजुली, इन्टर्नेट आदिजस्ता भाैतिक बिकासका आधारहरुमा बानी परिसकेका छन्, ती उनका आधारभुत आवश्यकता बनिसके र आधारभुत आवश्यकताको व्यवस्था नभएको ठाउँमा पर्यटनका लागि जाने माान्छेहरु निक्कै तल्ला आर्थीक हैसियतका हुन् । यस अर्थमा हामी खर्च गर्नसक्ने पर्यटकलाइ आकर्षण गर्नसक्ने हैसियतमा नपुग्दैमा पर्यटनमा हालको अवश्थामा पुगिसकेका छाैं, एकपल्ट सोचाैं भोली यस्ता विकाशका आधारसिलाहरु बनिसकेको अवस्थामा हाम्रो उचाइ के होला ?

                       यसरी नेपालको विकासको दुइ प्रमुख स्तम्भ भनेका जलबिधुत र पर्यटन हुन् । प्रसस्त शंभावना बोकेका यि दुइ कुराको विकाश सर्वप्रथम गर्न सकिए अन्य बिकाश तथा खोजका लागि अर्थको पर्याप्तता हुन्थ्यो र नेपालकको गर्वभित्रको आशंका गरिएको खनिजहरुको वारेमा अनुसन्धान लगायतका अन्य बिकाशका गतिबिधीतर्फ बढ्न सकिन्थ्यो ।