Saturday, August 2

पहिरोले सुनकोसी नदी थुनिदा ६ को मृत्यु, छेउको वस्ती जोखिममा

पहिरोले नदि थुनिएको स्थान । तस्विर : ईकान्तिपुरसिन्धुपाल्चोक , श्रावण १७ - काठमाडौंबाट चीनको सीमा क्षेत्र तातोपानी पुग्ने अरनीको राजमार्ग छेउबाट बाग्ने सुनकोसी नदी माङखा गाविसको ड्याम साइड भन्ने स्थानमा थुनिएको छ ।  राजगमार्गमाथिबाट आएकोे पहिरोले नदी थुनिएर जलाशयमा परिवर्तन भएको छ । नदीको प्राकृतिक बहाव हुननसक्दा ठूलो खतराको सम्भावना छ । थुनिएको पानी एकैचोटी निकास भए ठूलो बाढी आउने सक्ने भएले स्थानीय त्रसित छन् ।
राति करिब साढे २ बजेतिर पहिरोले बनेको अस्थायी बाँधले थुनिएको नदीमा जलस्तर बढ्दै गएको हो । पहिरोले माङखा गाविसको २० देखि २५ घर पुरिएको स्थानीय प्रशासनले जनाएको छ । घटनास्थलमा ६ जनाको शव भेटिएको छ । पहिरोले राजमार्ग अवरुद्ध छ ।
नदी थुनिएको स्थानभन्दा तीन किलोमिटर माथि बाहृबिसे बजारसम्म पानी पुग्न थालेको छ । थुनिएको स्थानभन्दा माथि डुबानको र खोला एकैचोटी खुले पानीको तिव्र बहावले तलतिर ठूलो धनजनको क्षतिको सम्भावना अनुमान गर्दै स्थानीय प्रशासनले नदी छेउछाउका वासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
सुनकोसी आसपासका बाहृबिसे, लामोसाँघु, खाडी चौर,बलेसी, सुकुटेसम्मको बजार खतरामा छ । त्रसित स्थानीयबासी सुरक्षित स्थलको खोजीमा छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले अकल्पनीय घटना भएको बताएका छन् । उनले थुनिएको खोला कसरी सुरक्षित रुपमा खुलाउने र स्थानीयको उद्धारबारे विभिन्न कोणबाट छलफल र प्रयास भइरहेको बताए । स्थानीयको उद्धारमा सेनाको हेलिकप्टर परिचालन गरिएको छ । सेनाले बम हानेर पहिरो हटाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
काभ्रे प्रशासनले पनि सुनकोसी खोला छेउका दोलालघाटदेखि सिन्धुलीको केशेश्वर दुम्जा क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सर्न सतर्क गराएको छ । सिन्धुलीमा पनि स्थानीय प्रशासनले सुनकोसी छेउका वासिन्दालाई सतर्क गराएको छ ।

ओखलढुंगा- गएरातिदेखि नै सिन्धुपाल्चोकको जुरेमा सुनकोसी नदी थुनिएको खबर आएपछि नदीले असर गर्न सक्ने यहाँको नदी किनारक्षेत्रमा सतर्कताको लागि आव्हान गरिएको छ ।
सिन्धुली र उदयपुरसँग जोडिएको हर्कपुर, टोक्सेल, सिस्नेरी, वलखु, पलापु क्षेत्रमा प्रहरीको टोली पठाई सुरक्षित रहन स्थानीयलाई आग्रह गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक श्याम खत्रीले बताए ।
थुनिएको नदी फुटिनसकेकोले तत्काल त्रसित नहुन प्रहरीले आग्रह गरेको छ । सर्वसाधारण भने नदी किनार छोडेर उच्च भाग तर्फ सर्न थालिसकेका छन् ।
(पुरा पढ्न शिर्षकमा थिच्नुहोस् ।)