Friday, August 1

मोदीको भ्रमणमा विरोध नगर्न प्रधानमन्त्रीको आग्रह

बिहीबार , १५ साउन २०७१

प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे आसन्न नेपाल भ्रमणमा विरोधका कार्यक्रम नगर्न नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई आग्रह गरेका छन् ।
मोदीको १८ साउनदेखि हुने नेपाल भ्रमणका बेला भारतसँग राष्ट्रिय हितविपरीतका सन्धिसम्झौता नगर्न माग गर्दै ज्ञापनपत्र बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको नेकपा–माओवादी नेतृत्वको टोलीलाई प्रधानमन्त्री सुशील कोइरालाले विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
भेटमा आफूहरुले भारतसँग कुनैप्रकारको सन्धिसम्झौता नगर्न आग्रह गरेको र गर्नै परे  सर्वदलीय सहमतिमा राष्ट्रहित अनुकूल हुनेगरी मात्रै गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मोर्चाका संयोजक देवप्रसाद गुरुङले जानकारी दिए ।
नेपालको ५४ क्षेत्रको करिव ६० हजार हेक्टर जमिन मिचिएकाले त्यो नटुङ्गिएसम्म भारतसँग सीमा सम्झौतामा हस्ताक्षर गर्न नहुने, नेपाल–भारत सीमा नियन्त्रण गरिनुपर्ने, सन् १९५० को सन्धि खारेज गर्नुपर्नेलगायतका माग आफूहरुले प्रधानमन्त्रीसमक्ष राखेको गुरुङले बताए ।
मोर्चाले जलविद्युतको विकास र व्यापारको नाममा भारतीय संस्थाहरूले नेपालको जलस्रोतमाथि एकाधिकार कायम गर्न खोजेको भन्दै जलविद्युत र जलस्रोतसम्बन्धी सन्धि नगर्नसमेत सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै  प्रधानमन्त्री कोइरालाले राष्ट्रिय हितविपरीतका कुनै सन्धिसम्झौता नहुनेमा ढुक्क हुन मोर्चाका नेताहरुलाई जवाफ दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग मुलुकलाई अहिले विकासको आवश्यकता परेको बताउँदै भारतीय प्रधानमन्त्रीको भ्रमणलाई विकासको लागि सक्दो उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।