Friday, August 1

भारतसँग अरुण तेस्रोका लागि प्रस्ताव गरिने

शुक्रबार , १६ साउन २०७१ 

ऊर्जा मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि आग्रह गर्ने तयारी गरेको छ ।
लामो समयदेखि भारतीय प्रवद्र्धक सतलज विद्युत् निगमले प्रक्रिया अगाडि बढाइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माणलाई भारत सरकारको लगानीमा अघि बढाउन अनुरोध गर्न लागेको उर्जामन्त्री राधा ज्ञवालीले जानकारी दिइन् ।
ऊर्जा मन्त्रालयमा १५ साउनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राधा ज्ञवालीले सो आयोजनाको सम्बन्धमा ठोस प्रगति हुन नसके तमोर जलविद्युत् आयोजना अर्को वैकल्पिक परियोजना हुन सक्ने बताइन् ।
आयोजनाको क्षमताको सम्बन्धमा फरक–फरक तर्क र तथ्यहरू आइरहेको बेला अरुणको सम्बन्धमा सहमति नभए कूल २५२ मेगावाट क्षमताको तमोर निर्माणको लागि अनुरोध गरिने उनकोे भनाइ थियो ।
नेपाल विद्युत् प्राधिकरणले जलाशययुक्त आयोजनाको रूपमा अगाडि बढाइ तमोरबाट कूल ७६२ मेगावाट विद्युत् उत्पादन हुन सक्ने जनाउँदै आएको छ ।
अरुण तेस्रोको कूल क्षमता भने ४०२ मेगावाट रहेको छ । सो आयोजना लगानी बोर्डले अगाडि बढाइरहेको र परियोजना विकास सम्झौता(पिडिए)को चरणमा रहेको छ ।
मन्त्री ज्ञवालीले राजनीतिक दल र सरोकार भएका निकायहरूसँगको छलफलका आधारमा विद्युत् विकास सम्झौता(पिटिए) पनि गरिने बताइन् ।
“दलहरू विद्युत् खरिद सम्झौता गर्नुपर्नेमा एकमत देखिएका छन्, समानताका आधारमा दुई मुलुकको हितलाई ख्याल गरेर पिटिए गर्न पनि सहमत हुन्छन् र त्यसमा राष्ट्रिय सहमति जुट्छ भन्नेमा म विश्वस्त छु,” मन्त्री ज्ञवालीले भनिन् ।
उनले नेपाल–भारतबीच लामो समयदेखि चर्चाको केन्द्रमा रहेको पञ्चेश्वर आयोजनालाई पनि अगाडि बढाउन सहमति खोजिने उल्लेख गरिन् ।
“मन्त्रालयले विविध पाटा र पक्षलाई विचार गरेर प्रस्ताव तयार पारेको छ, राजनीतिक दलहरूबीचको सहमति र मन्त्रिपरिषद्ले गर्ने निर्णय नै अन्तिम हुन्छ,” मन्त्री ज्ञवालीको भनाई थियो ।