Sunday, March 30

हराइरहेको मलेसियन जहाज र यसले उब्जाएका आशंकाहरु

आजभोलिको ताजा र सबैको खुल्दुलीको विषय हो हराइरहेको मलेसियन एअर लाइन को विमान । मार्च ८ मा क्वालालम्पुरवाट चीनको राजधानीका लागि उडेको मलेसियन एअर लाइन्सको एम एच ३७० को  विमान एक्काशी गायब भयो र रहस्यमयी तरिकाले हराएको-हराएकै छ । हराएको विमानमा विश्वको चासो छ र आधा विश्व विमानको खोजीकार्यमा भएका सबै श्रोत-साधनको परीचालन गरि लागिपरिरहेको छ, बिमान भेटिएको छैन र बिमान सम्बन्धि काटिएका अड्कल-वाजिहरु एक पछि अर्को गर्दै गलत सावित भैरहेछन ।

मलेसियन एअर-लाइन्स एउटा नाम चलेको र विश्वसनीय हवाईसेवा प्रदायकको रूपमा परिचीत छ । दैनिक औसत ३५,००० मान्छेले यस एअर लाइन्सको विमानको प्रयोग गर्ने गर्छन साथै मलेशिया देशपनि एसियाको विकषित देशमध्ये पर्छ। यस विमानमा यत्ररथ आधाजसो यात्री चाईनीज थिए, सबैलाई थाहा भएको कुरा हो, चाइना एसियाको यस्तो उदयमान राष्ट्र हो जुन केहि समयपछि नै विश्वको सर्वशक्तिमान राष्ट्र बन्ने अड्कल काट्न थालिएको छ । 

अर्को रोचक पक्ष के रहेको छ भने, हालको समयलाई  सूचना र प्रविधीको समय भनिने गरिएको छ र सूचना र प्रविधिको कारण विश्व सानो गाउँजस्तो भएको कुराहरु धेरैपटक विश्वका वरिस्ठ मान्छेको मुक्त-कण्ठवाट  सुनिएको छ ।कतिपय मान्छेहरु हाल के विश्वाश गर्छन भने विश्वमा प्रविधिको विकाश यति धेरै भएको छ कि अव हराएको सानोभन्दा सानो कुरा पनि सहजै भेट्न सकिन्छ । नभेटिएको मलेसियन एअर लाइन्सको यस विमानले विश्वका सवैलाई एकपटक राम्रैसग सोच्न बाध्य तुल्याइदिएको छ, भनिएका विकाशका कुराहरुमा कतिसम्म विश्वाश गर्ने भन्ने सिमा निर्धारण गरिदिएको छ ।

दुर्घटना भएको अडकल काटिएको सामुदि्रक क्षेत्रको मध्यबाट मलेसिया र भियतनामसहित दक्षिण-पूर्वी एसियाली मुलुकका सुरक्षा बल खोजमा जुटे । विमानमा १ सय ५३ आफ्ना नागरिक सवार रहेकोले चीनका लागि यो प्रमुख मुद्दा बन्यो । विमानमा १४ देशका २ सय २७ नागरिक थिए । यसमा मलेसियाका ३८, इन्डोनेसियाका ७, अस्ट्रेलियाका ६, भारतका ५, फ्रान्सका ४, अमेरिकाका ३, न्युजिल्यान्ड, युक्रेन र क्यानाडाका २/२ तथा रुस, इटाली, ताइवान, नेदरल्यान्ड्स र अस्टि्रयाका १/१ नागरिक थिए । विमानमा चीनका ख्यातिप्राप्त १९ कलाकारको टोलीसमेत थियो । विमानमा चीन र अमेरिका ५ बालबालिका पनि सवार थिए । यो सबबीच अस्टि्रया र इटालीका विदेश मन्त्रालयले आफ्नो यात्रुको नाममा अरू नै यात्रा गरिरहेको बताएपछि यसले अनेक शंकालाई जन्म दियो ।  
चालकले आपतकालीन संकेत नदिएको उक्त विमानको 'ट्राफिक कन्ट्रोलर्स' सँग भियतनामको कामाउ प्रान्तनजिकै सम्पर्क टुटेको भनियो । मलेसियाली समयअनुसार दिउँसो डेढ बजे राडारमा त्यो विमान थिएन । चीनको हवाई क्षेत्रमा प्रवेश नगर्दै त्यसमा केही भएको अनुमान गर्दै भियतनामको हवाई नियन्त्रित क्षेत्रबाट खोजी सुरु भयो । एसियाको ठूला विमान कम्पनीमध्येमा पर्ने उक्त एयरलाइन्सको सुरक्षा रेकर्ड राम्रो भएको हुनाले सुरुमै अप्रिय शंका गरिएन । उक्त एयरलाइन्सबाट विश्वभरिका दैनिक ३७ हजारले यात्रा गर्छन् ।
उसको एक-एक विमान सन् १९७७ मा अपहरण तथा दुर्घटनामा पर्दा ९३ यात्रु तथा चालकदलका ७ सदस्यको मृत्यु भएको थियो । ११ वर्ष मात्र पुरानो उक्त विमानलाई पनि दोस्रो दिन पनि फेला नपारिएपछि आतंकवादी षडयन्त्रको शंका गर्न थालियो । हराउनुअघि विमान बीचबाटै क्वालालम्पुरतर्फ फर्किन मोडिएको अर्को सूचना सार्वजनिक भयो । एसिया प्रशान्त एयरलायन्स संघका महानिर्देशक एन्ड्रयु हर्मनले सुरुमै यसलाई असामान्य दुर्घटना भनेर ठोकुवा गरे ।
अस्टि्रयाका क्रिस्टियन कोजेल र इटालीका लुइगी मराल्डीको दुई वर्षअघि थाइल्यान्डको बैंककमा चोरी भएको पासपोर्टबाट अरूले नै विमानमा यात्रा गरिरहेको खुलासा भएपछि अनुसन्धानमा अर्को मोड आयो । उनीहरूले बेइजिङबाट युरोप जाने चाइना साउदर्न एयरलान्यसको टिकट लिएको अर्को सूचना आयो । हराएको राहदानीको रेकर्ड विमानस्थलसँग हुनेहुनाले उनीहरूलाई जान दिनुलाई सुरक्षा कमजोरीको रूपमा पनि लिइयो ।  सीसीटीभी फुटेजबाट उनीहरूको पहिचान गरी अमेरिकासहित विभिन्न राष्ट्रका आतंकवाद नियन्त्रण इकाईले छानबिनमा हात हाले ।
विमान अपहरणमा परेको वा विस्फोट गराइएको सम्भावनामा अनुसन्धान केन्दि्रत भयो । चीनका अल्पसंख्यक उइगुर समूहको यसमा संलग्नता हुन सक्ने अन्दाज गरियो । विमान बेपत्ता भएको साताअघि चीनको दक्षिण पश्चिमी युनान प्रान्तको राजधानी कुन्मिङमा उइगुर समूहको छुरा आक्रमणमा २९ जनाको ज्यान गएको घटना यसको आधार थियो । मलेसियाले तीन वर्षअघि नक्कली पासपोर्टवाहक उक्त समूहका १७ जनालाई चीन फर्काएको थियो ।
चौथो दिनको नयाँ सूचनामा मलेसियाली अधिकारीहरूले बेपता हुनुअघि विमानले निर्धारित मार्गभन्दा टाढा पश्चिमतर्फ मोडिएको सैनिक राडारले देखाएको भने । अर्कोतिर अवैध बसाइ सराइका लागि युरोप जान चोरीको राहदानीमा यात्रा गरिरहेका इरानी नागरिक १८ वर्षे पुरिया नूर मुहम्मद र २९ वर्षे दिलावर सयद मोहम्मदरेजाको आतंकवादसँग कुनै सरोकार नभएको पत्ता लाग्यो ।
स्याटेलाइट प्रविधिको प्रयोग गर्दै फ्रान्स पनि यो खोजमा सहभागी भयो । भारतले मलेसियाको नौसेनासँग समन्वय गर्दै आफ्नो तीन जहाजलाई अन्डमान तथा निकोबार द्वीपमा पठायो । उक्त क्षेत्र भारतसँग भन्दा पनि मलेसिया तथा म्यान्मारबाट नजिक छ ।
पाँचौं दिन चिनियाँ प्रधानमन्त्री ली केकियाङले हरेस खाइसकेका आफन्तलाई दिलासा दिँदै आफ्ना ८ पानीजहाज र १० स्याटेलाइट यस कार्यमा लगाएको बताए । चीनले विमानको अवशेष भन्दै एक तस्बिर पनि जारी गर्‍यो, जसलाई मलेसियाले गलत भन्यो । पछि चीनले पनि भूलवश उक्त तस्बिर जारी भएको बतायो । सातांै दिन बेपत्ता भएको पाँच घन्टासम्म विमानले स्याटलाइटलाई सिग्नल पठाएको अमेरिकी अधिकारीहरूको दाबी आयो । यसबाट सम्पर्कविच्छेद भएपछि पनि विमानले उडान गरिरहेको देखियो ।
अमेरिकीहरूले यसपछि त्यो जेट हिन्द महासागरमा खसेको संकेत मिलेको जानकारी दिए । अमेरिकी दल र भारतीय नौसेनाले 'सर्च' सुरु गर्‍यो । झन्डै ९० हजार वर्गकिलोमिटर समुद्री क्षेत्रलाई नियाल्ने काम सुरु भयो । चालकको चरित्रदेखि विमानबारे अनेक कल्पनाहरू भइरहेको बेला ठयाक्कै आठौं दिन मलेसियाली प्रधानमन्त्री नाजिब रजाकले स्याटलाइट र राडार टे्रकिङमार्फत भेटिएको प्रमाणका आधारमा विमानको सञ्चार उपकरण जानाजानी बन्द गरिएको भनेपछि रहस्य झनैं गहिरियो । उनले त्यहाँभित्र उपस्थित कुनै व्यक्तिले मलेसियाको पूर्वी बन्दरगाहतर्फ लागेपछि विमानको सञ्चार संयन्त्र 'द एयरक्राफ्ट एन्ड कम्युनिकेसन्स एडे्रसिङ एन्ड रिर्पोटिङ सिस्टम (एसीएआरएस)' लाई बन्द गरेको खुलासा गरे । यो सिस्टममा विमानभित्रको कम्प्युटरले भू-सतहको कम्प्युटरलाई आफ्नो यन्त्रको स्थितिबारे जानकारी दिन्छ ।
उनले योसँगै मलेसिया र भियतनामी सीमाको एयर ट्राफिक कन्ट्रोल नजिकै संकेत उत्पादन गर्ने र पहिचान गर्ने ट्रान्सपोर्डरलाई सोचीसम्झी बन्द गरिएको भने । एक सैनिक राडारको अनुसार त्यसपछि विमान उत्तर-पश्चिम दिशामा बढ्नुअघि मोडिएर मलेसियातर्फ फिर्ता उडेको थियो । यसपछि मार्ग फेरेर त्यो सात घन्टासम्म लगातार उडेको जानकारी आयो । सहचालक फारिक अब्दुल हामिदले मलेसियाको ग्राउन्ड कन्ट्रोलर्ससँग विमान हराउनुअघि 'अल राइट, गुड नाइट' शब्द बोलेका थिए । विमानको पहिलो सञ्चार प्रणाली बन्द भएको १२ मिनेटपछि र दोस्रो र अन्तिम ट्रान्सपोन्डर बन्द भएको दुई मिनेट अघि उनले बोलेको अधिकारीहरूले बताए ।
हराएको पाँच घन्टापछि उक्त विमानले लन्डनको एक स्याटलाइटलाई पठाएको संकेतअनुरूप उत्तरतर्फ कजाखस्तान र तुर्कमिनिस्तानको सीमा हुँदै बैंकक पुगेको वा दक्षिणतर्फ इन्डोनेसियादेखि हिन्द महासागरमा पुगेको हुनुपर्ने निष्कर्ष निकालियो । अबचाहिँ खोज झनै चुनौतीपूर्ण बन्यो । खोजी अभियानलाई हिन्द महासागरसम्म विस्तार गरियो । ठीक ढंगले काम गरिरहेको बेला मात्र विमानले त्यस्तो सिंग्नल पठाउन सक्ने विज्ञहरूको धारणा थियो । सर्वत्र अपहरणको शंका भइरहेको बेला आएको यो सूचनाले त्यसलाई झनै मलजल गर्‍यो ।  यति बेलासम्म १४ मुलुकका ४३ जहाज र ५८ विमानले खोजीरहेको उक्त विमानको साँच्चिकै अपहरण भएको शंकालाई बल मिल्यो । मलेसियाली प्रहरीले विमानका चालक अहमद शाहको घरको खानतलासी गरेपछि यो अनुमानलाई झन पुष्टि गर्‍यो ।
चीनले अब अन्य मुलुक र संगठनलाई सहयोगको आग्रह गर्दै छानबिनमा प्राविधिक विशेष टोली पठायो । यता हराएदेखि खोजमा जुटेको भियतनामी सेनाको विशेष टोलीले सम्भावित स्थानमा खोज्दा पनि फेला नपरेकाले अभियान रोकेको बतायो ।
यो अभियानमा १६ मार्चसम्म २५ मुलुकले हातेमालो गरे । उत्तर र दक्षिण दुवै करिडोरमा विमान खोजी सुरु भयो । यसअनुरूप मध्यएसियादेखि हिन्द महासागरको दक्षिणी भागसम्मको जल र जमिनमा आँखा गाडियो । मलेसियाले चालक दलका सदस्य, यात्री र विमानस्थलका स्टाफलाई समेत शंकाको घेरामा राखिएको बतायो । उसले विमानमा रहेका यात्रुको पृष्ठभूमि कोट्याउने काम पनि गर्‍यो । नियोजित रूपमा अर्कै मार्गमा चालकले विमान मोडेको स्पष्ट भएको प्रधानमन्त्री नाजीवले बताए ।

नभेटीरहेको मलेसियन एअर लाइन्सको विमानले केहि यस्ता आशंकाहरुलाई जन्म दिएको छ जसलाई निवारण गर्न विज्ञान तथा प्रविधीले अझै धेरै वर्ष धेरै कामहरु गर्नुपर्ने छ ।