Saturday, July 12

एमालेको मतदान सकियो

  • २१७६ मा २१५१ ले मतदान गरे

UML
काठमाडौ, असार २८ - एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । आन्तरिक तयारी पूरा नगर्दा शुक्रबार साँझ साढे ५ बजेदेखि सुरु भएको मतदान शनिबार बिहान ३ बजेसम्म चलेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष सोमनाथ अधिकारी 'प्यासी'ले एमालेका २ हजार १ सय ७६ प्रतिनिधिमध्ये २ हजार १ सय ५१ ले मतदान गरेको जानकारी दिए ।
अधिकारीले मतगणना गर्ने स्थानबारे निर्णयमा पुग्न नसकिएको जानकारी दिए । आयोगले दशरथ रंगशालाको कबर्ड हल, भृकुटीमण्डप, सभागृह, प्रज्ञा प्रतिष्ठान वा पार्टी मुख्यालयमध्ये एक ठाउँमा मतगणना गर्न सकिने प्रस्ताव गर्ने भएको छ ।
अध्यक्षका दुई प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओलीसँगको परामर्शमामात्रै मतगणनास्थल टुंगो लाग्नेछ । सम्भवतः मध्यान्ह ११ बजेपछि मतगणना प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।
असार १९ गतेदेखि काठमाडौंमा सुरु भएको नवौँ महाधिवेशन नयाँ नेतृत्व चयनसँगै सकिनेछ ।
महाधिवेशनमा सातौँ महाधिवेशनका दुई प्रतिस्पर्धी नेपाल र ओली पुनः नेतृत्वको मैदानमा प्यानलसहित उत्रिएका छन् ।
भृकुटीमण्डपस्थित महाधिवेशन हलमा निर्वाचन भइरहँदा बाहिर नेपाल र ओलीपक्षले साँस्कृतिक कार्यक्रम गर्दै रातभर जाग्रम बसेका थिए । उनीहरुले पूर्वेली, पश्चिमेली र देउडा भाकामा आफ्ना नेताको पक्षमा नाचगान गरे ।
एमालेको नवौँ महाधिवेशन राजनीतिक क्रान्ति पूरा भएको निष्कर्ष निकाल्दै आर्थिक क्रान्तितर्फ अगाडि बढ्ने निष्कर्षमा पुगेको छ ।